विराटनगर । ३८ क्वीहटल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित एसएसपी दिवस लोहनीलाई साधारण तारिकमा छोडन आदेश दिएको छ ।

उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीश द्धोय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै शुक्रबार साधरण तारिकमा छोड्न आदेश दिएका हुन् ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधरण तारिकमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयण रेग्मीले जानकारी दिए ।

लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोडन माग राख्दै अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका प्रमुख थिए ।

सुन तस्करी र हत्या मुद्दामा शुक्रबार २४ थान मुद्दाको पेशी चढेको अदालतको सूचना अधिकारी राजनकुमार दाहालले जानकारी दिए । जसमध्धे १ थान मुद्दा प्रतिवादी वलिकले निवेदन दिएर स्थकित गराएका थिए । अभियुक्त विरेन्द्रमान श्रेष्ठको पेशी स्थगित भएको हो । २३ थान मुद्दा समय अभावले हेर्न नभ्याएको अदालतले जनाएको छ ।

यस अघि अभियुक्त्तहरु निलम्बित डिएसपी सन्जय थापा, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ । डिएसपी थापालाई बिहीबार, एयरलायन्स कर्मचारी थारुलाई मंगलबार र मुख्य अभियुक्त्त चुडामणी उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो । तीनै अभियुक्त्तहरु मोरंग जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन् ।