बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी दोश्रो अन्तरराष्ट्रिय आमन्त्रण बुद्ध एयर डागीहाट गोल्डकपको फाईनलमा विर्तामोड युनाईटेड क्लव प्रवेश गरेको छ । शुक्रवार भएको दोश्रो सेमीफाइनल खेलमा टुर्वोग हर्ष ईलामलाई ३ –२को गोल अन्तरले पराजित गर्दै विर्तामोड फाईनलमा प्रवेश गरेको हो । निकै प्रतिश्पर्धात्मक खेलमा विर्तामोडले ईलामलाई प्रेसर बढाउदै गएपछि पहिलो हाफमा नै दुईगोल गरेका थिए । खेल संचालन भएको १० औं मिनेटमा विर्तामोडका लक्ष्मण चौधरीले पहिलो गोल गरेका थिए । त्यसैगरी विर्तामोडका रोशन थाम्सुहाङले पहिलो हाफको १३ औं मिनेटमा दोश्रो गोल गरि २–०को अग्रता दिलाएका थिए । दोश्रो हाफमा इलामले पुन: विर्तामोडलाई दवावमा राख्न सफल भयो । तर निर्धारित समयमा गोल हुन सकेन । खेलको अन्त्यतिर अतिरिक्त ४ मिनेटको समयमा इलामका तर्फबाट अनिल तिम्सिनाले गोल गरेका थिए । त्यसको लगत्तै एक मिनेट पनि वित्न नपाउदै पुन विर्तामोडका तर्फबाट सञ्जय धिमालले जवाफी गोल गरेका थिए । अतिरिक्त समयको अन्तिममा ईलामका दर्शन गुरुङले सेन्टरबाट डुब्लिङ गर्दै गोल अगाडि बढाएर गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच विर्तामोडका रोशन थाम्सुहाङ घोषित भएका छन् । उनलाई नगद पाँचहजार पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिव ढकालले प्रदान गरेका थिए । शनिवार हुने फाईनल खेल विर्तामोड र मोरङ एकेडेमी विच हुने भएको छ ।