पानवारी । धरान–१५ स्थित पाथीभरा लाइनमा अस्थायी प्रहरी चौकीको भवन शिलान्यास भएको छ । भवन निर्माण समितिले शुक्रबार आयोजना गरेको शिलान्यास कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले भवनको शिलान्यास गरेको हो ।

अहिले अस्थायी प्रहरी चौकी साघुरो भवनमा रहेकोले कार्यालयको काम काज एकदमै अफ्टेरो भएकोले भवन निर्माण गर्नुपरेको १५ नं. वडाध्यक्ष नरेश इवारमले बताए । किचन, थुनुवा कोठा, प्रशासनिक काम गर्ने कोठा लगायतको ६ कोठे एक तले भवन बनाउन लागिएको भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष हिमाल दाहालले बताए ।

उनका अनुसार करिब १३ लाखमा निर्माण सम्पन्न हुने भवनको लागी स्थानीयबाट आर्थिक संकलन गरीने छ । अहिलेसम्म ३ लाख भन्दा बढी रकम संकलन भइसकेको पनि उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्सपेक्टर होमराज दाहाल, लगायतको उपस्थिति रहेको थियो ।