पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङका उपप्रमुख तथा उपाध्यक्षहरुले महिला हिंसा रोक्न तथा महिलाहरुलाई सचेत, सृजनशील र व्यवसायी बनाउनका लागि संघीय सरकारले समेत कार्यक्रम दिनुपर्ने माग गरेका छन् ।

सो क्षेत्रका १० वटा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको भेलाले ‘उत्तर–पूर्व मोरङ न्यायिक समिति सञ्जाल’ नामाङ्करण गर्दै संघीय उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे आफ्नो गृहनगर मोरङ आएको बखत तुम्वाहाम्फेमार्फत सरकारलाई कार्यक्रम माग गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका लागि पेश भएको कार्यक्रममा यसबेला जारी रहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तरगत महिलाका लागि ३ वटा क्षेत्रमा कार्यक्रम आवश्यक रहेको उल्लेख छ । जस अन्तर्गत, कानुन र कानुनी व्यवस्था प्रबद्र्धनका लागि जबरजस्ती करणीलगायत यौन अपराधविरूद्ध अभियान, महिला पौढ शिक्षा, महिला हिंसाविरोधी अभियान, मानव अपहरणविरूद्ध सशक्त अभियान, संवैधानिक व्यवस्था र स्थानीय कानुनी अभिमुखीकरण, जारी मुलुकी देवानी संहिता ऐन र फौजदारी संहिता ऐन अभिमुखीकरण सहितका कार्यक्रमको सन्दर्भ उठाइएको छ । मानव तथा मानव अंग बेचबिखनविरूद्ध अभियान र अधिकारमुखी महिला सशक्तिकरण अभियान सञ्चालन कार्यक्रम उल्लेख गरिएको छ ।

सिर्जना, निर्माण र विकास शिर्षक अन्तरगत, उद्यम सिर्जनशीलता र महिला उद्यमी निर्माण, महिला आत्मनिर्भर अभियानलाई सामाजिक आत्मनिर्भरतासँग जोड्ने कार्यक्रम, महिला र गृहस्थबीचको अन्तरसम्बन्धमा शुद्धाचरण एवम् स्वस्थ्यकर जीवनशैली निर्माण कार्यक्रम राखिएको छ । व्यवस्थापन कार्यक्रम अन्तरगत, अन्धविश्वासका विरूद्ध सामाजिक सचेतना, तमाम विभेदका विरूद्ध सामाजिक अन्तरघुलन, पीडितजनको सुरक्षित पूनर्बास र पुनः व्यवस्थापन तथा सङ्क्रमित रोगसम्बन्धी सचेतनताका लागि विषयगत तालिम कार्यक्रमहरु आफ्नो क्षेत्रमा आवश्यक रहेको उल्लेख गरिएको छ । अर्थमन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सोको बोधार्थ समेत पेश गरिएको छ ।

कार्यक्रमका लागि सहकार्य गर्न भन्ने शव्द प्रयोग गरि माग गरिएको कार्यक्रमको मागपत्र ग्रहणपछि उपसभामुख तुम्वाहाम्फेले महिला हिंसा रोक्न र महिलाको सशक्तिकरण गर्न आफुले समेत सरकारको ध्यानाकर्षण गराउने वताइन् । उनले महिला जनप्रतिनिधिहरुले यसखाले सहकार्यमा महिला हिंसा रोक्ने र महिलालाई सशक्त बनाउने कार्यक्रम बनाउनु आजको आवश्यकता भएको समेत भएको भन्दै सहकार्यको प्रशंसा गरिन् ।

सञ्जालको संयोजकमा उर्लाबारी नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी र केराबारी गाउपालिका उपप्रमखु शान्तिकुमारी लिम्बु भुजेल सचिव रहने गरी भेलाले निर्णय गरेपछि सो सञ्जालमार्फत कार्यक्रम मागिएको हो । कार्यक्रम संयोजक भण्डारीले यसखाले सञ्जालले महिला हकहितका सवालमा १० वटा पालिकास्तरीय नीति, कार्यक्रममा एकरुपता समेत ल्याउन एवम् न्यायिक कार्यमा समेत समन्वयका लागि काम गर्ने उद्धेश्य बनाइएको उल्लेख गरिन् । सञ्जालमा, भण्डारी र भूजेलका साथै मिक्लाजुङकी सरला राई, पथरीशनिश्चरेकी यमुना बिष्ट बास्तोला, कानेपोखरीकी राजकुमारी इङनाम, लेटाङकी कृष्णकुमारी पोखरेल, बेलबारीकी ढाकाकुमारी पराजुली, सुन्दरहरैचाकी धनामाया तामाङ, रतुवामाईकी दयन्ता चुडाल र रंगेलीकी केशरकुमारी खराल रहेकी छन् ।