रङ्गेली/ सङ्घीय समाजवादी फोरमको छैठौं महाधिवेशन आगामी माघ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ ।  पार्टीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको लागि सातै प्रदेशमा तदर्थ समिति गठन गर्न पार्टीले इञ्चार्ज र सह–इञ्चार्ज तोकिसकेको पार्टीका सह–इञ्चार्ज एवम् सचिव पर्शुराम बस्नेतले जानकारी दिए । प्रदेश तदर्थ समिति गठनको लागि असोज ९ र १० गते प्रदेश १ को विराटनगरमा भेला आयोजना गरिने उनले जानकारी दिए । भेलामा १४ वटै जिल्लाका पार्टीका विभिन्न समितिका प्रतिनिधिको उपस्थिति रहने उनले जानकारी दिए । पहिचानसहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता र अधिकार सहितको १० जोड १ प्रदेश तथा राज्यको विशेष संरचनाको रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्रलाई राजनीतिक संरचनाको रूपमा कायम गर्नुपर्ने उनले बताए ।  उनले माघमा हुने महाधिवेशनमा ५ सय २५ सदस्यको सहभागिता रहने बताए । महाधिवेशनमा अनुमानित खर्च ३ लाख रहेको र उक्त खर्च सदस्यहरूबाट उठाइने उनले बताए । प्रदेश समिति ५७ सदस्यीय बन्ने उनले जानकारी दिए ।