पथरीशनिश्चरे । १ नम्वर प्रदेशका अर्थमन्त्री इन्द्र आङ्वोले यसबेला सरकार विरुद्ध संघीयता विरोधी देशी विदेशी शक्तिहरु लागिरहेकाले त्यसको डटेर सामना गर्न आवश्यक रहेको बताएका छन् ।

लिम्बूवान राष्ट्यि मुक्तिमोर्चा र नेपाल लोकतान्त्रिक किरात लिम्बू संघले लिम्बूवान राष्ट्यि मुक्तिमोर्चाका केन्द्रीय सचिव स्वर्गीय कृष्णराज बेघाको स्मृतिमा विहीवार मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री आङ्वोले सो कुरा बताएका हुन् । मन्त्री आङ्वोले ऐतिहासिक बाम एकताबाट निर्माण भएको बहुमतको सरकारका तिल जत्रा केही कमजोरीलाई पहाड जत्रो बनाएर संघीयतामाथि नै आक्रमण भइरहेको भन्दै त्यसखाले गतिविधिलाई निरुत्साहित पार्न जनताले खवरदारी गर्नुपर्ने जनाए । ‘करको निहु निकालेर असफल बनाउन खोजिएको छ ।’ उनले भने ‘कर अहिले मात्र ल्याइएको नौलो कार्यक्रम होइन । जनताको अवस्था अनुकुलको करको दायरा वढाउँदै कर असुलीको काम नगरे त देशको अर्थतन्त्र नै ठप्प हुन्छ ।’ वामपन्थी सरकारको योजना अघि बढाएर ५ वर्षभित्रमा समाजवादको आधारशीलाको खम्वा गाड्न आफुहरु सफल भइछोड्ने उनले उद्घोष गरेका छन् । ‘हामीसंग त्यसप्रकारको अर्जुनदुष्टि छ र त्यो थाहापाएर हामीलाई असफल बनाउन लागिरहेको कुरा जनताले बुझेर उनीहरुको षडयन्त्र तोड्नुपर्छ ।’ – उनले आव्हानको शैलीमा भने ।

कार्यक्रममा, मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ लिम्बूले बाम एकता भएपछि अमेरिकाको डिजाइनमा भारतलाई अगाडि सारेर सरकार ढाल्ने तथा अराजता निम्त्याउने षडयन्त्र भइरहेको आरोप लगाए । उनले संयुक्त वा वहुपचिहानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताए ।