पाँचथर । वाल बिवाह न्यूनिकरणका लागि भएका प्रयास निष्प्रभावि देखिएका छन् । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका सबै स्थानीय तहले वाल बिवाहलाई निरुत्साहित गर्ने प्रयास गरेको देखिन्छ । तर ती प्रयासले समाजमा खासै प्रभाव छाड्न नसकेको सरोकारवाला बताउँछन् । स्थानीय तह र अन्य सरकारी निकाय बाहेक जिल्लामा क्रियाशील संघ–संस्थाहरुले पनि वाल बिवाह न्यूनिकरणका लागि विभिन्न समयमा विभिन्न क्रियाकलाप गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा सञ्चालन गर्दै आएको साइबर अपराध सचेतना कक्षामा पनि वाल बिवाह न्यूनिकरणको सन्देश दिइदै आएको छ । गत आर्थिक वर्षमा सबै स्थानीय तहले वाल बिवाहलाई निरुत्साहित गर्ने उदेस्यले केही न केही कार्यक्रम गरेका थिए । चालु आर्थिक वर्षमा पनि वाल बिवाह न्यूनिकरणका लागि सचेतनामुलक लगायतका अन्य कार्यक्रम राखेका छन् । यद्यपी ती कार्यक्रमले प्रतिफल दिन नसकेको सञ्चारिक समूह पाँचथरकी अध्यक्ष शान्तिदेवी राई बताउँछिन् । हरेक कुरामा क्रमशः उद्धार बन्दै गएको नेपाली समाज, पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, अभिभावक आफ्ना वालबच्चाको क्रियाकलाप र रुचीप्रति गम्भिर नहुनु, किसोर–किसोरीमा सामाजिक सञ्जालको अस्वभाविक प्रयोग लगायतका कारणले बद्लिदै गएको किसोर–किसोरीको मनोविज्ञानलाई बदल्न ठूलो चुनौति बन्दै गएको राई बताउँछिन् । जिल्लाको अन्य क्षेत्रको तुलनामा बढी वाल बिवाह हुने भनिएको तुम्बेवा गाउँपालिकाको पाँच वटै वडामा गत आर्थिक वर्षमा महिला बिकास शाखा मार्फत सचेतनाका कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । तर कार्यक्रमबाट अपेक्षित उपलब्धि भने हाँसिल हुन सकेन । वाल बिवाह न्यूनिकरणका लागि सबैभन्दा ठूलो कुरा चेतना नै भएकाले यसलाई निरन्तरता दिने थापाको भनाई छ । वाल बिवाह घटाउन अहिलेसम्म भइरहेका कोशिष प्रभावकारी नभएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष हीमादेवी अधिकारी पनि स्वीकार्छिन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पनि २० वर्षमुनिका वालवालिकालाई यसबारे सचेत गराउने कार्यक्रम तय गरेको छ । उनले भनिन्– ‘प्रयास गरिएकै हो, तर त्यो प्रयास प्रभावकारी हुन सकेको छैन, यसलाई परिणामुखि बनाउँन कसरी कार्यक्रम गर्नुपर्ने हो, हामी नै अन्यौलमा छौं ।’ अधिकांश वाल बिवाह परिवारको सहमतिमा भन्दा पनि आफूखुसी हुने गरेको हिलिहाङ गाउँपालिका–१, अमरपुरस्थित अमरज्योति आधारभूत विद्यालयका शिक्षक पुष्पा तामाङ बताउछिन् । ‘सानै उमेरमा प्रेममा पर्ने अनि लहैलहैमा बिहे गरिहाल्ने प्रवृति बढेको छ’ उनले भनिन् ‘यसले जटिल किसिमका सामाजिक, शारीरिक र मानशीक समस्या निम्त्याउने देखिन्छ ।’ जिल्लामा कति वाल बिवाह भएका छन् यसको यकिन तथ्याङ्क कसैसँग पनि छैन । तर जिल्लाको सबै क्षेत्रमा वाल बिवाह समस्या सँगै चुनौति बन्दै गएको वालवालिकाको अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अर्पण थापा बताउछन् । कानुन कार्यान्वयनमा देखिएको फितलोपनका कारण बर्षेनी वाल बिवाह बढिरहेको थापाको अनुभव छ । उनले भने– ‘ यसमा के पनि समस्या छ भने बिवाह गरिसकेपछि मिलेर बसेका केटाकेटीलाई छुट्याउन पनि अप्ठ्यारो हुन्छ, यसरी पनि वाल बिवाह बढ्दो क्रममा छ ।’ मुलुकी अपराध संहिता ऐनले २० वर्षभन्दा कम उमेरमा गरिने बिवाहलाई वाल बिवाह माने पनि यो क्रम भने बढ्दो अवस्थामा रहेको छ । जिल्लामा वाल बिवाह बिकराल समस्या समस्या बन्दै गएको छ । सम्बन्धित निकायको तथ्याङ्कमा वाल बिवाहको रेकर्ड खासै देखिंदैन । तर समाजमा भने वाल बिवाह ठूलो समस्याको रुपमा हुर्किदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २० वर्षभन्दा कम उमेरका ७१२ महिलाले पहिलोपल्ट गर्भवती जाँच गराएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा ८४२ र आर्थिक वर्ष २०७४÷७५ मा ७६६ जना २० वर्षभन्दा कम उमेरका महिलाले पहिलोपल्टको गर्भवती जाँच गराएको जनस्वास्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । शारीरिक र मानसिक रुपमा परिपक्व नभइ बिवाह गर्ने र गर्भवती हुँदा आमाको स्वास्थ्यमा जटिल किसिमका समस्या समेत देखा पर्न सक्ने र बच्चाको स्वभाविक बृद्धि र बिकासमा पनि असर पुग्ने स्वास्थ्यकर्मी बताउँछन् । तर बर्षेनी वाल बिवाह भने बढिरहेको छ । यसबारे गम्भिर अध्ययन गरी समस्याको वास्तविक गहिराइमा पुगेर न्यूनिकरणको कार्य थालिए मात्र वाल बिवाह न्यूनिकरणका प्रयास प्रभावकारी हुने सरोकारवालाको सुझाब छ ।