‘भाग्यमानी रहेछन् भट्टराई दाइ , छोरालाई भ्म्ख् परेछ, कागजपत्र मिलाउन काठमाडौं लागेको भन्थे , अहिले छोरा–बुहारी र नाति अमेरिका जाने रे, पछि आमाबाबु पनि उतै लान मिल्छ रे ।’ ‘लौ राम्रै भएछ, बलबहादुरको छोरो लाहुरेले पनि युकेमै घर बनायो रे, अस्ति भर्खरै बले र बलेकी श्रीमती ६ महिना युके बसेर आँको भन्थे ।’  ‘तल भाञ्जा दाइका छोराछोरी अष्ट्रेलिया पढ्न गएका, पढिसकेर उतै पो घरजम गरे रे, भाञ्जा दाइ पनि नातानातिनी हेर्न उतै गएका छन् ।’ ‘जापान पढ्न जानेहरूले पनि उतै काम पाउँछन् रे, खत्री भाइका छोराबुहारी पनि त १०–१२ वर्ष अघिदेखि उतै छन् । बेला–बेला घर आउँछन् ।’ शहरबजारको मर्निङवाक वा कुनै कार्यक्रमको जमघट होस् अथवा गाउँ–ठाउँको मेलापात, पर्वको भेलामा उपरोक्त कुराहरू गर्वका साथ हुने गर्छ । हुन पनि हो आर्थिक अवस्थाको मारमा परेको नेपाली समाजले छोराछोरी विदेशिनु भनेको आर्थिक सबलतासँगै सामाजिक मानसम्मानको कसि मान्ने मनोविज्ञान पाल्दै आएको शदियौं भैसकेको छ । खेतीपाती पशुपालन, सरकारी चाकरीबाहेक केही व्यक्तिहरूको कुतिको व्यापारबाट आर्थिक उन्नति हुने उबेलामास राणाकालीन सैनिकहरु इष्ट इण्डिया कम्पनीलाई सघाउन लाहौर पुगे । लाहौरमा भएको इष्ट इण्डिया कम्पनीविरुद्धको विद्रोह त दबाए–दबाए त्यहाँको आर्थिक पक्षमा विभत्स आक्रमण गरेर व्यक्तिगत अकुत सम्पत्ति हातपार्न सफल भए । जितेर आएका सैनिकहरूले राणा सरकारबाट स्याबासी र बक्सिस् त पाउने नै भए, लाहौरबाट लुुटेको सम्पत्तिले गाउँ–ठाउँमा सम्पत्तिको उच्च रवाफ देखाई लाहौरे कमाइको छाप पारे । त्यसपछि जे जसरी भए पनि विदेश गएर, पैसा कमाएर आउनेहरूलाई पनि लाहौरे भनिन थालियो । यही लाहौरे शब्द आज हामीहरू बीच लाहुरे भएको छ ।

नेपाली फौजले लाहौरमा देखाएको रणक्रुरतालाई सधैँको लागि इष्ट इण्डिया कम्पनीले ‘क्यास’ गर्न गोर्खा पल्टनै तयार गर्यो । भारत स्वतन्त्र हुँदा गोर्खा पल्टनको आधा भाग ब्रिटिसको र आधा भाग भारतको भएकोले सो पल्टन अद्यावधि यसरी नै चलिरहेको छ । यो लाहुरे हुने र कमाउने नेपालीहरूमा (नेपाली शासन सत्ताबाट पर पारिएका, व्यापारिक मनोस्थिति नभएका, आर्थिक स्तरमा तल पारिएका वर्ग पर्दथे । उनीहरूसँग भएको पाखुरीको पौरख र तिघ्राको बल हुञ्जेल ‘पाना’ मा चलाएपछि बुढ्यौलीमा पेन्सन दिएर घर फर्काइन्थे । यी फर्कने रिटायर्ड लाहुरेहरू गोजीमा पैसा र दिमागमा देशविदेशको अनुभूति लिएर फर्कन्थे । त्यसैले गर्दा नेपालभित्र मनग्य शहरहरू यस्ता छन्, जसको जे–जे नाम भए पनि लाहुरेहरू अधिक बसोबास गरेको शहरलाई ‘लाहुरेको शहर’ भन्ने गरिएको छ । यसरी लाहुरे हुन थालेको करिब–करिब एक शताब्दी बित्दा नबित्दै यो विदेशिने क्रमले कोल्टो फेर्यो ।

वि.सं. २०४० सालअघि विदेश जाने नेपालीहरूमा लाहुरे, कूटनैतिक नियोगका व्यक्तिहरू, स्वास्थ्य उपचार गराउने व्यक्तिहरू, उच्च व्यापारीहरू, उच्च घरानाका छोराछोरी पढ्न जानेहरू र निश्चित मिसिनरीका भक्तहरू मात्र पर्दथे । ढिलो–चाँडो ती सबै नेपालमै बस्ने गरी फर्कन्थे । अवैधानिक किसिमले विदेश पुर्याइएकाहरू, भारतमा भए फुत्कन पाउँदा घर फर्कन्थे, अरुको उतै विलय हुन्थ्यो । २०४० सालपछि नेपाली रैतीहरूलाई विदेश जान, काम गर्न, पढ्न, घुम्न आदि काम गर्न सजिलो हुने किसिमको नीति नियम सरकारले सञ्चालन गरेकाले (नेपालीहरू विदेशिनलाई सजिलो भो । उच्चस्तरका नेपालीहरू विभिन्न बहानामा अमेरिका, ब्रिटेन, जापानतिर लागे भने मध्यम्स्तरका नेपालीहरू अष्ट्रेलिया, मिडिलइस्टतिर र निम्न स्तरका नेपालीहरूको गन्तव्य खाडी मुलुक, नभए भारत त छँदैछ । यसरी हुने लाहुरेहरूमा, डलर लाहुरे, डोरी लाहुरे, तोरी लाहुरे, छोरी लाहुरेका प्रकारहरू थपिन थाले । अझ ब्रिटिस गोर्खा पल्टनमा सन् २०२० देखि नेपाली युवतीहरू भर्ती हुन थालेपछि के–के लाहुरेका आयाम थपिने हुन् त्यो भविष्यको कुरो भो । सन् १९९७ मा ब्रिटेनले हङ्कङ छोड्ने निश्चित भएपछि हङ्कङमा जन्मिएका नेपालीहरूले हङ्कङमा बसोबासको व्यवस्थापन ब्रिटिसले मिलाइदिएकाले आई.डी.प्रथाले नेपालमै तहल्का मच्चायो । हङ्कङ आई.डी. हुनु मात्र होइन, वैध अवैध जसरी भए पनि ‘हङ्कङ जाऔं’ को लहर चल्यो । त्यसको लगत्तै अमेरिकी ई.डी.भी.ले मार्केट लिन थालेको जो अहिलेसम्म चलिरहेकै छ । यससँगै पढाइको नाममा लाखा,ैं करोडौं तिरेर, राम्रो मुलुकमा छिरेर, मालपानी कमाउने सूत्र पक्रिएको पनि दशकौं बित्न लाग्यो ।

यी नै विविधता उब्जाइएको नेपालको कुनै पनि समाजमा चल्ने संवादहरू हुन्–यस शीर्षकको शुरुका गफहरू । कूटिलताको हतियारले लुट मच्चाउनेहरू त यही देशमा फलेका छन्, फुलेका छन् । अनि तिनीहरूका भरौटे अरौटेहरू पनि सकुसल छन् । यी बाहेकका नेपालीहरूले अर्थोपार्जन गर्न विदेशको मुख ताक्नै पर्ने हुन्छ । कहीँ केहीले कृषि उपार्जन गरेर उन्नति गरे भन्ने खबर सत्य भए पनि ती खोजिएका उदाहरणमात्र हुन् । खेत बाँझो छ, पाखो बाँझो छ, गाउँ–ठाउँमा असाधारण किसिमले युवाहरू छैनन्, तर देश चलेको छ, धान–चामल आयात भैरहेकै छ, विल्डिङ बनेको बनेकै छन् । तै यहाँसम्म त चित्त थाम्न सकिने थियो, तर अब त यस्तो पनि नरहने भो ।लाखौं नेपालीहरूले रगत पसिना गरेर कमाइ गरी पठाइएको रेमिट्यान्सको रकम उपचारको नाममा, शिक्षाको नाममा, उपकरण र इन्धनको नाममा त उतै फर्कदै थियो । अब त कमाउन गएका नेपालीहरू जुन–जुन देशमा बस्ने इजाजत पाए, त्यही ठाउँमा रमाउन आफ्नो पुख्र्याैली थातथलो, सम्पत्ति, घरजग्गा बेचेर उतै लाँदैछन् । विश्व ग्रामीणता (ग्लोबेलाइजेसन) अर्थमा यो उचित ठहरिने भए तापनि राष्ट्रको जनशक्तिको मेरुदण्ड युवा विदेशिनु ब्रेनड्रेन मात्र हैन क्रियाशील शक्ति अनि अर्थ पलायन हुनु पनि हो । एउटा परिवारले जन्मिएदेखि सक्षम युवा बनाउँदासम्म आर्थिक, मानसिक र भावनात्मक सम्पत्ति खर्चिएको हुन्छ । ठीक यसरी नै देशले लाखौं युवाहरूलाई सबल र सक्षम तथा स्वस्थ पुस्ता हुर्काउन राष्ट्रको ठूलो धनराशि खर्चिएको सत्य धेरैलाई अनुभूति नहुन सक्छ ।

यसरी आफ्नो परिवारको अपनत्व बिर्सिएर, राष्ट्रिय कर्तव्य लत्याएर विदेशकै रसबसमा रमाउनु, विदेशी चकाचौधले ब्रेनवास गरिएका व्यक्तिहरू नभएर अरु के हुन सक्छन् ? गुँडमा बचेरा छोडेर खाना खोज्न हिँडेका पखेरुहरूले खाना प्रशस्त पाइने ठाउँमै बास बस्न थाल्ने हो भने गुँडमा चारो पर्खिबसेका बचेराको के गति होला ? वृद्ध भएका आमाबाबुको, परिवारको सुख खोज्ने निहुँमा लाहुरे भएका, उच्च शिक्षा पढ्न गएकाहरू, वृद्ध आमाबाबु र घरपरिवारलाई बिर्सिएर उतै घरजम थाल्नु कुन कमाइ हो त्यो ? कुन शिक्षा आर्जन हो त्यो ? भनिन्छ– सन् १९६२ को इण्डो–चीन युद्धमा इण्डियन २०० आर्मीहरू हराएछन् रे । ती हराएका फौजहरूलाई एक वर्षपछि चीनले मुक्त गरेपछि उनीहरू भारतीय सेवामा फर्केछन् । ती एक वर्ष चिनियाँ फौजमा जीवन बिताएका भारतीय फौजीहरूले बातैपिच्छे चिनियाँ फौजको तालिम राम्रो, चिनियाँ फौजको अनुशासन राम्रो, चिनियाँ फौजको तलबमान राम्रो, चिनिया फौजको युनिफर्म राम्रो, चिनियाँ फौजको पेन्सन राम्रो, आदि–आदि कुराहरू मात्र गरेको थाहा पाएपछि भारतीय उच्च सैनिक नियोगले ‘यिनीहरूलाई चिनियाँ फौजहरूले बे्रनवास गरेर भारत पठाएको’ ठहर गरी ती बे्रनवास भएका आफ्नै फौजहरूलाई सुटआउट गरेर समाप्त गरियो रे भनिन्छ ।

यो सत्य असत्य जे भए पनि ज¨ी फौजभित्र भएको सबैकुरा सर्वसाधारणले थाहा पाउने गरी बाहिर आउँदैन । राष्ट्रियताको महत्व, कर्तव्य, गरिमा जोगाउन यस्ता ब्रेनवास भएका व्यक्तिहरूलाई सफाया गरिनु आफैमा अनुचित नहोला । चिनियाँ फौजले भारतीय बन्दी फौजीहरूलाई ब्रेनवास गरी पठाए झैं नेपाल राष्ट्रले स्कलरसिपमा जुन–जुन देशमा आफ्ना होनहार कर्णधार विद्यार्थीहरूलाई पढ्न पठायो र पठाइरहेको छ, ती नेपालीहरू पनि अप्रत्यक्ष ब्रेनवासकै रूपमा नेपाल भित्रिइरहेका छन् । तिनीहरूको हरेक उदाहरण, प्रवृत्तिमा त्यही देशको वकालत गर्ने बानी भेटिनुले सो कुरा प्रष्ट पार्दछ । नेपालमै चलिरहेका हालको शिक्षा प्रणालीहरूले पनि विदेशलाई स्वर्गलोक, स्वप्नलोक भनी परिभाषित गरी विद्यार्थीहरूको ब्रेनवास गरेकैले प्रायः उच्चशिक्षा हासिल गर्न सबै विद्यार्थी विदेशै जाने चाहना राख्दछन्, तर सबैलाई घरको अर्थले विदेशिन धान्न नसक्ने भएकाले देशका महाविद्यालयहरू भरिएका छन् । विश्वका विकसित देशहरूले यस्तो नीति बनाइरहेका छन् कि– बालबच्चा आफूले हुर्काउनै नपर्ने गरिब, विकसित मुलुकले हुर्काएका होनहार युवाहरूलाई विकासको, सुखसुविधाको नाममा ब्रेनवास गरी एडप्ट गर्ने अनि आफ्ना राष्ट्रको तल्लो, जोखिमयुक्त, कम दाम पाउने कामहरूमा उनीहरूलाई लगाउने अर्थात् जोत्ने तरिका अपनाएका प्रष्ट देखिन्छ ।

तर भदौमा आँखा फुटेको गोरु र अर्काको जूठो र जडाउरीमा उन्नति ठान्ने ब्रेनवास भएका पलायन कर्ताहरूलाई त्यो हरियो घाँस होइन, सुकेको पराल हो भनी कसले सम्झाउन सकोस् † यही नीतिहरूकै औजारहरू हुन् । ईडिभी, युके आइडी, क्यानेडियन, अष्ट्रेलियन आदिका आई.डी. ग्रीनकार्डहरू (जसलाई तेस्रो मुलुकका युवाहरूले सुवर्ण अवसर मानेका छन्, यी प्रकारान्तरले ‘कहाँ जान्छस् हराउने, बिलाउनेमा’ नै हुन् । वर्तमान युवाहरू विकसित मुलुकको नीति लिसो–पासोतिर उन्मुख भए–भए तर देशभित्रका स्थायी सरकारका औजार वरिष्ठ कर्मचारीहरू विदेशी पि.आर. बोकेर नेपालको सेवा गर्छन्, एन.जी.ओ., आइ.एन.जी.ओ. का नेपाली कर्मचारीहरू, नेपालको विवशता बेचेर आफ्नो गोजी भर्छन् । कर्मचारी भई सरकारी तलब खाएर घुसखोरी र नेताभक्ति गर्छन्, मालसामान गोदाममा बन्द गरी कृत्रिम अभाव उब्जाएर आफ्नो धनसार भर्ने व्यापारीहरू, आफू सरकारी शिक्षक भएर बोर्डिङमा छोराछोरी पढाउनेहरू, देशको धर्म, सस्ंकृति छोडेर परधर्मको बखान गाउने र मर्न काशी हरिद्वार जानेहरू, बिरामीको उपचार भन्दा अर्थ उपलब्धि गर्ने नर्सिङहोम–अस्पतालका सञ्चालकहरू, नेपाली वास्तुकला चटक्कै बिर्सिएर विदेशी सामग्री र ढाँचाको विल्डिङ निर्माताहरू, भाव र अर्थभन्दा पनि प्रशस्ती गायन गर्ने सिण्डिकेटे लेखक मण्डलीहरू, रासन–शासन नमस्कार मीठो भाषण मात्र छाँट्ने नेताहरू, दलालीमा अडिएको अर्थतन्त्रलाई उन्नति ठान्ने अर्थविद्हरू, कागजमा अडिएको नैतिक तन्त्र, सामाजिक सचेतक विचारहरू, भक्तिमा भन्दा भेटीमा ध्यान दिने पुजारी–पुरोहितहरू, आचार शुद्धि भन्दा चाप्लुसी शुद्धिलाई प्राथमिकता दिने गुरुचेला नेता कार्यकर्ताहरू, सत्य खबरलाई भन्दा मालपानी जोहो गर्ने कुरालाई हाइलाइट गर्ने पत्रकारहरू, २० वर्ष पाल्ने आमा, बाबुभन्दा २० दिन अघि बिहे भएको जोडीको कुरालाई मात्र सत्य मान्ने सन्तानहरू, छोराछोरीको आचरण सुधार गर्नुभन्दा छ्यापछ्याप पैसा छाप्न मात्र जान्ने आमाबाबुहरू र यस्तै किसिमको अन्धो जीवन निर्वाह गर्नेहरू कुनै न कुनै प्रकारले ब्रेनवास गरिएकै मानिसभित्र पर्छन् ।

यिनीहरू देशभित्र हुनु भनेको पनि शरीरमा कीरा परेजस्तै हो । यस्तालाई राष्ट्रकवि माधव घिमिरेको ‘बाँच्यो सधैँ जसले सम्झ्यो देशको माटो, मर्यो जिउँदै त्यो जसले बिस्र्याे देशको माटो’ अथवा रामायणको सस्ंकृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी (मदर एण्ड मदरल्याण्ड आर सुपरियर टु हेभेन) भनी सम्झाउनु पनि (भैंसके आगे बीन बजाए बैठे उगराए) भने जस्तै हुनेछ ।