उदयपुर । उदयपुरको थानपोखरी माविमा सूचना प्रविधि केन्द्र स्थापना भएको छ । यो प्रदेश १ को पहिलो सूचना प्रविधि केन्द्र भएको दाबी गरिएको छ । चौदण्डीगढी नगरपालिका–९ ज्यामिरे झोडास्थित थानपोखरी माविलाई नेपाल टेलिकमको सहयोगमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । प्राविधिक शिक्षाका लागि नेपाल टेलिकमले नेपाल भरमा ६ वटा सूचना केन्द्र दिएका थिए । जसमध्ये थानपाखेरी मावि परेको प्रधानाध्यापक चन्द्रनाथ झाले बताए ।

२०२२ सालमा स्थापित विद्यालयलाई पहिलो पटक प्राविधिक शिक्षा मैत्री बनेको संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामदेव चौधरीले बताए । पूर्व सहरी विकास राज्य मन्त्री मञ्जु चौधरीको पहलमा सूचना केन्द्र स्थापना भएको हो । टेलिकमले ५ कम्प्युटर, १ थान प्रिन्टर र दुई वर्षको लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको प्रअ झाले बताए ।

सूचना प्रविधिले विद्यालयलाई प्राविधिक शिक्षा दिनमा सहयोग पुगेको छ । केन्द्र स्थापनासँगै स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने भएको छ । प्राविधिक शिक्षाको लागि घर छाडेर शहर धाउनु पर्ने बाध्यताबाट ज्यामिरे झोडावासीहरू मुक्त भएका छन् ।