दमक । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतबाट हुने फैसलामा सिंहदरबारको हस्तक्षेप नभएको दाबी गरेकी छन् । न्यायाधीश नियुक्तिलगायतका धेरै विषयहरू राजनीतिबाट प्रभावित हुँदा पनि सर्वोच्चका फैसलामा भने हस्तक्षेप नहुने दाबी गरेकी हुन् । प्रधानन्यायाधीश नियुक्तिलगायतमा राजनीतिक हस्तक्षेप बढ्दै गर्दा सर्वोेच्च अदालतबाट हुने फैसला निष्पक्ष र स्वतन्त्र हुनसक्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘अहिलेसम्म त फैसला सिंहदरबारमा लेखेको सुनेको र देखेको छैन ।’ न्यायाधीश नियुक्ति बहुमत सदस्य राजनीतिक तहका हुने भएकाले न्यायालय पनि राजनीतिबाट प्रभावित भने रहेको कार्कीले बताएकी छन् । मङ्गलबार दमकमा युथ नेटवर्कले आयोजना गरेको न्यायालयमा आम नागरिकको पहुँच विषयक कार्यक्रममा कार्कीले भनिन्, ‘दलका नेताले निर्णय गरेपछि न्यायालय त राजनीतिभन्दा टाढा छैन भन्ने बुझ्नुभयो ।’ उनले न्यायालयलाई कसैले पनि आफ्नो अनुकूलमा प्रेरित गर्न नहुने भए पनि यस क्षेत्रमा सामाजिक विकृति कायमै रहेको उनको आरोप थियो ।