काठमाडौ‌ /बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन्। सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो घटना हो।  ‘उजुरी दर्ता गर्ने वा नगर्ने ?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराधसंहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो।

संविधानबहादुरका ‘टमी’ र ‘काली’लाई पिट्दै काट्नका लागि खुकुरी ल्याउँदा सुरेश ब्लोन र राज लामाविरुद्ध प्रहरीले मुद्दा दर्ता ग¥यो मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट पक्राउ आदेशपछि ब्लोन र लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए। गत २२ भदौमा मादक पदार्थ सेवन गरी सडकमा होहल्ला गर्दा ‘टमी र काली’ नामक कुकुर उनीहरूलाई देखेर एक्कासि भुके । कुटेपछि कुकुर मालिक जोशीसँग उनीहरूको विवादसमेत भयो । त्यसपछि दुई युवाले खुकुरी ल्याएर कुकुर काट्न खोजेपछि जोशी प्रहरी कार्यालय पुगे । ब्लोन र लामा आइतबार पक्राउ परे । घरपालुवा जनावर कुटेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पहिलोपटक मुद्दा दर्ता गरेको छ।

नयाँ कानुन कार्यान्वयन गर्नुपर्ने भएकाले कुकुरमाथि आक्रमण गर्नेलाई प्रहरीले कारबाहीका लागि अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आदेश दिएका छन् । जिल्ला अदालत काभ्रेबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी राउतले ‘यस्तो प्रकृतिको कसुरमा पहिलोपटक पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि म्याद दिएको’ बताए । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पशुपंक्षीसम्बन्धी मुद्दा पहिलोपटक दर्ता भएको हो।

घाउजाँचपछि टमी र कालीलाई उपचारनिम्ति पशु चिकित्सालय पठाइएको छ । प्रहरीले उनीहरूको घटना नै दर्ता गरी कानुनी प्रक्रियासमेत अघि बढाएको छ।