ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने मोटरेबल पुल जोखिममा परेको छ । अविरल वर्षाका कारण पहिरो झरे पछि सिनाम र आम्बेगुदिनको सीमानामा पर्ने नेउखोलाको उक्त पुल जोखिममा परेको हो । पुलको दुवै तर्फका जीपको आसपास माथीबाट पहिरो झरे पछि उक्त पुल जोखिममा परेको बताईएको छ । गएराती देखिको अविरल वर्षा पछिको पहिरोले दुवै तर्फको ग्याबिङ जाली बगाएको स्थानीय भिम लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार सिनाम तर्पmको करिव एक सय मीटरको सडकको भाग समेत पहिरोले बगाएको छ । पुल जोखिममा परे सँगै त्यहाँवाठ अन्य स्थानमा जान समेत समस्या भएको छ । त्यही पुल भएर आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्ला बाहिर जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । अन्यत्र ठाउँबाट आम्बेगुदिन तर्फ जाने दर्जनौ सवारी साधन समेत सिनाम मै रोकिएको बताईएको छ । सो क्षेत्रमा तत्काल बाटो खुल्ने सम्भावना न्युन रहेको स्थानीयको भनाई छ ।

यता वर्षाकै कारण मेची राजमार्ग अन्तरगत ताप्लेजुङको काबेली फुङलिङ सडक खण्ड बिहानैदेखि अवरुद्ध छ । गएरातीकै वर्षाका कारण मेवाखा र सेसम्बु बीचमा पर्ने भाँडी खोल्सामा आएको बाडीका कारण राजमार्ग अवरुद्ध बनेको हो । खोल्सामा पानीको मात्रा बढेको र माथीबाट ढुंगा गिटि आएर बाटोमा थुप्रिएका कारण सवारीसाधन ओहोर दोहोर बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मणबहादुर थापा मगरले बताउनुभयो । पानीको मात्रा नघटे सम्म सवारीसाधन ओहोर दोहोर गर्न सक्ने अवस्था नरहेको मगरको भनाई छ । यस्तै उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानै देखि बाटो अवरुद्ध बने पछि ताप्लेजुङबाट पाँचथर, ईलाम, झापा लगायतका ठाँउमा बाहिरिने र जिल्लामा भित्रने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । गएराती नै पाथिभरा याङ्वरक गाउँपालिका २ थेचम्बु स्थित कुन्दन राईको घरमा भल पसेको प्रहरीले जनाएको छ । भल पसे पछि घरमा बस्ने अवस्था नरहेको बताईएको छ । सो क्षेत्रमा समेत प्रहरीको टोली पुगे पछि विस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालयको भनाई छ । ताप्लेजुङमा गएरातीदेखि परेको वर्षा अहिले पनि जारी छ ।