पानवारी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार रजत जयन्ती मनाएको छ ।  रजत जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान चिकित्सक उत्पादनदेखि, अनुसन्धान र बिरामीलाई दिइरहेको सेवाको आधारमा उत्कृष्ट रहेको भन्दै त्यसको हिस्सेदारमा आफू (भारत) सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन सकेका चिकित्सकहरू विश्वमै बिक्न सक्ने र उनीहरूलाई विश्वास गर्ने बताए ।  प्रतिष्ठानले पूर्वी नेपालको मात्र नभई आसपासका भारतीय जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । प्रतिष्ठानले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको भन्दै अब त्यताभन्दा पनि अब कसरी उत्कृष्ट हुन सकिन्छ त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । उनले प्रतिष्ठानको रजत जयन्ती तथा १ सय ५ औं बीपी जयन्तीको अवसरमा प्रतिष्ठानले अझ धेरैलाई सेवा दिन सकोस्, अनुसन्धानमा अब्बल रहोस् र अझ सफलता प्राप्त गर्दै जाओस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए । प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले दैनिक २० जनालाई सेवा दिएर शुरू भएको अस्पताल हाल ३ हजारभन्दा बढीलाई दैनिक सेवा दिइरहेको बताए । उनले प्रतिष्ठानमा आएका बिरामीलाई रिफर गर्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले प्रतिष्ठानमा मृगौला, मुटु र हड्डीको ट्रान्सप्लान्ट गर्ने योजना रहेकाले यसलाई यही सम्भव बनाउन योजना बनाइरहेको बताए । उनले इमरजेन्सीको क्षमता बढाउने, १० शøया आइसियुमा थप्ने, नयाँ अक्सिजन प्लान्ट खोल्ने, मेडिसिन र सर्जरीलाई छुट्टाछुट्टै बनाउने योजना रहेको भन्दै दू्रत गतिमा काम गरिरहेको बताए ।

प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउने तर्फ पाइलाअघि बढाएको समेत जानकारी दिए । प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सरकारले तोकेको तलब उपलब्ध गराउने तथा विशेषज्ञहरूलाई बाहिर धेरै तलब खोज्दै नजाने गरी पारिश्रमिक दिने वातावरण तयार गरिरहेको बताए । रजत जयन्तीमा उपस्थिति अतिथिहरूले दिवङ्गत बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेका थिए । यसै अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको समेत विमोचन गरियो ।  यसैबीच बीपी कोइरालाको १०५ औं जयन्तीको अवसरमा बीपी अध्ययन प्रतिष्ठान सुनसरी विस्तार भएको छ । प्रतिष्ठानमा थप १० जनालाई मनोनित गरेको प्रतिष्ठान सुनसरीका अध्यक्ष विकास आचार्यले बताए । प्रतिष्ठानको सचिवमा विष्णुदेव मण्डल, सदस्यहरूमा मणि दुलाल, शालिग्राम पाण्डे, विशालजङ्गध्वज कटुवाल, कल्पना राउत, विष्णु कार्की, राजेन्द्र खड्का, प्रियश गुरागाइँ, कञ्चन कोइराला बराल र सम्राट क्षेत्री छन् ।