पानीको अभावसँग सम्बन्धित केही यस्ता तथ्यहरु छन् । जुन सबैले जानिराख्नु आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पृथ्वीका लगभग २५ करोड मानिसले पानीको दैनिक उपभोग गर्न पाएका छैनन् ।

एउटा अनुसन्धानअनुसार सन् २०२५ को अन्त्यसँगै विश्वको आधा जनसंख्याले पानीको अभाव भोग्नु पर्नेछ । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले गरेको एक अध्ययनबाट पृथ्वीमा सबैका लागि पर्याप्त पानी भएको निष्कर्ष निस्के पनि यसको उचित व्यवस्थापन हुन सकेको छैन । पानीको उच्च माग र कम आपूर्ति– यी दुवै समस्या उस्तै देखिए पनि भिन्नाभिन्नै हुन् । बढिरहेको जनसंख्या र घटिरहेको पर्यावरण सन्तुलन यस समस्याका मूल जड हुन् । पानीको सही र पर्याप्त उपभोग हुने हो भने मानव जीवनस्तरमा सुधार हुँदै जान्छ । उदाहरणका लागि पानीको सही उपभोग र पर्याप्तताले शिक्षा र स्वास्थ्यमा सुधार हुन्छ भने भोकमरी र गरिबी कम हुँदै जान्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, शुद्ध पानी प्राप्त भयो भने करोडौं बालबालिका बर्सेनी हुने झाडापखालाबाट जोगिन्छन् । पानीको मात्रा कम हुँदै जानुका कारण धेरै छन् । यस्ता कारणमा बढ्दो जनसंख्या, प्रयोगमा हेल्चेक्र्याइँ, सामाजिक–राजनीतिक स्थिति, जलवायु परिवर्तन मुख्य कारणका रुपमा छन् । नेपाल जलस्रोतमा सम्पन्न राष्ट्र भए पनि कुल जनसंख्याको करिब ८० प्रतिशतले मात्र शुद्ध खानेपानीको उपभोग गर्न पाएका छन् । करिब ७० प्रतिशत जनसंख्या अझै पनि खोला–नालाको पानीमा निर्भर छन्, जसका कारण बर्सेनी ४४ हजार बालबालिकाले पानीबाट सर्ने रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा जलविद्युत् विकासको मनग्ये सम्भावना छ, तर यसका लागि हामीलाई ठूलो लगानी आवश्यक हुन्छ ।

विश्वमा पानीको हाहाकार कति बढिसक्यो भने अब आउने केही वर्षपछि पेट्रोलजस्तै पानीको मोल पनि उच्च हुनेछ । यही स्तरमा पानीको मात्रा काम हुँदै जाने हो भने पानी डलरमा बिक्री हुन धेरै समय लाग्दैन । आउने दिनमा पानीका लागि विश्वयुद्ध हुँदैन भन्न सकिँदैन । हामीले अहिलेदेखि नै शुद्ध पिउने पानीको संरक्षण गरेमा केही समयपछि विश्व बजारमा पानी बेच्न सक्नेछाैँ । हामीसँग भएको पानीको सम्भावनालाई सदुपयोग गरेमा अहिले खाडी राष्ट्रले पेट्रोलियम पदार्थको आडमा आफ्नो अर्थतन्त्र बलियो बनाए झैं हामीले पनि आउने केही वर्षपछि पानी निर्यात गरी अर्थतन्त्रमा सुधार ल्याउन सक्छौँ । नेपालसँग छिमेकी राष्ट्रहरुले सम्बन्ध गाँस्न खोजेको एउटा कारण हामी जलस्रोतमा सम्पन्न राष्ट्र भएकाले पनि हो । हामीसँग भएको प्राकृतिक सम्पदामा हाम्रा छिमेकीले आँखा लगाउनु अगाडि नै यी स्रोत र साधनको सही सदुपयोग गरेमा आर्थिक हिसाबले पनि सम्पन्न हुन कुनै समय लाग्दैन । अहिले हामी पेट्रोलियम पदार्थका लागि अन्य मुलुकमाथि निर्भर भए झैं कुनै दिन पानीका लागि विश्वका धरै राष्ट्र नेपालमाथि निर्भर रहनु पर्नेछ ।

त्यसकारण हामीले आफ्नो जलस्रोतबाट समृद्धि गर्ने कार्यलाई ढिला गर्नु हुँदैन ।