सम्भावित नाम कोशी प्रदेश

यज्ञप्रसाद शर्मा

प्रदेश नम्बर एकको नाम के हुनसक्ला भन्ने आम जनतामा अन्योल छ । जनता आ–आफ्नै किसिमले अनुमान गर्न र त्यही आधारमा बहस गर्न बाध्य छन् । प्रदेश सभाको दुई तिहाईले यस विषयमा निर्णय गर्नसक्ने संवैधानिक व्यवस्था छ । जनताले चुनावताकाको वाम गठबन्धन र अहिलेको एउटै दल नेकपालाई दुई तिहाई बहुमत दिएका छन् । तर, चुनाव सकिएको पौने एक वर्ष हुनलाग्दा पनि न राजधानी टुङ्गो लाग्छ, न त प्रदेशको नाम नै । हुँदा–हुँदा मिडियाले विपक्षी दल कमजोर भएकाले यस्तो भएको भनी लेख्न थालेका छन् । सत्तारूढहरू निदाए, विपक्षीले ब्युँझाउनु प¥यो भनेका होलान् । एक नम्बर प्रदेशका कुल ९१ सिटमा पूर्व एमालेको ५१ र पूर्व एमाओवादीको १५ गरी नेकपाको ६६ सिटहरू छन् । यो कुल सिट संख्याको ७२.५३ प्रतिशत हो । अझ सरकारी गठबन्धनमा रहेका सङ्घीय समाजवादी फोरमको तीन सिट र स्वतन्त्रको एक सिट थप्ने हो भने ७० सिट अर्थात् ७६.९२ प्रतिशत प्रदेशसभा सदस्य सरकारको पक्षमा रहेको अवस्था छ । आश्चर्यको कुरा दुई तिहाई त के तीन चौथाई भन्दा पनि बढी सिट सत्तारूढ दलको हातमा भएर पनि अहिलेसम्म निर्णय हुनसकेको छैन । यसबाट समस्या सत्तारूढ दलभित्रै रहेको प्रष्ट सङ्केत गरेको छ ।

प्रदेशको नामको सम्बन्धमा सगरमाथा, किरात, कोशी, लिम्बुवान, विराट, कोचिला आदि चर्चामा छन् । प्रदेशका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिबाट सहमति नभए दुई तिहाइ बहुमतबाट निर्णय गरिन्छ भन्दै ६ महिनादेखि बताउँदै आउनुभएको छ । जुन वैधानिक व्यवस्था नै हो । उहाँको भाषण संवैधानिक व्यवस्थाको व्याख्या मात्र हो । एक पटक प्रदेशको नाम र राजधानीका विषयमा शीर्ष नेताहरूसँग छलफल हुँदै गरेको बताउनुभएको थियो । तर, त्यसमा कति प्रगति भयो, आम नागरिक अनभिज्ञ छन् । आम नागरिक तहसम्म वा राजनीतक दलको पङ्क्तिमा यस विषयमा बहस भएको छैन । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बेला–बेलामा सम्भावित नामहरू सतहमा ल्याइदिनुहुन्छ । सरकारको तर्फबाट गरेको प्रयास त्यति मात्र हो । राजनीतिक दलभित्र पनि त्यति गहिरो छलफल चलेको थाहा छैन । के यति नै प्रयास पर्याप्त छ ? यतिकै आधारमा गरिएको निर्णयलाई लोकतान्त्रिक पद्धति अपनाएर गरिएको निर्णय भन्न मिल्छ ? आम जिज्ञासा छ ।

अब रह्यो नाम के राख्ने भन्ने कुरा । किरात वा लिम्बुवान राख्नुपर्दछ भनेर माग गर्ने अभियन्ताहरूले पर्याप्त तर्क गर्नुभएको छ । उहाँहरूले ऐतिहासिकता र पहिचानलाई जोड दिनुभएको छ । सगरमाथा हुनुपर्दछ भन्नेहरूको तर्क पनि सुनियो । सगरमाथा नामकरण गर्दा प्रदेश विश्वभर चिनिन्छ भन्नुहुन्छ । सोझो तर्क छ । सबैले आफ्नो पक्षलाई बलियो पार्न महत्वपूर्ण तर्क गर्नुभएको छ  । सबै तर्कहरू र मागदाबी जायज छन्, म सबैलाई उत्तिकै सम्मान गर्न चाहन्छु । त्यसैले अहिले कम तर्क आएको कोशी प्रदेश नामकरणको प्रसङ्गमा केही कुरा लेख्न गइरहेको छु । यसको पक्षमा कुरा नगर्दा त्यही बाँध भत्काएर जनतालाई विचल्ली पार्ने कोशी त हो नि भन्ने बुझाइ कतिपयमा हुनसक्छ । त्यसैले कोशीको महत्व र नामकरणको औचित्यबारेमा आम नागरिकमा ज्ञान होस् भन्ने उद्देश्यले यस लेखमा केही तथ्य र तर्कहरू अगाडि सार्न चाहेको छु । आशा छ, यी तथ्य र तर्कहरूले निर्णयकर्ता र सरोकारवाला सबैमा कोशीको बारेमा बुझ्ने र अध्ययन गर्ने उत्सुकता बढाउनेछ र समुचित निर्णय गर्न सजिलो हुनेछ ।

सगरमाथा र कोशीमा एक किसिमको अन्योल देखिएको छ । सगरमाथा नाम राख्दा मलाई चाहिँ आफ्नो पौरख नभएको लुरे सन्तानले बाबुआमाको नाम बेचेर जिउने चेस्टा गरेजस्तो लाग्छ । आफनो बाहुबल, बुद्धि र क्षमतामा भरोसा नभएको जस्तो । विश्वमा अग्लो सगरमाथाको नामबाट देश चिनिन्छ । हिमाल र निकुञ्जहरू राष्ट्रिय सम्पत्ति हुन् । त्यसमा सङ्घीय सरकारको अधिकार हुन्छ । त्यसलाई पुँजीकृत र नियमन सङ्घीय सरकारले गर्छ । आरोहीबाट उठेको रोयल्टी पनि उसैले असुल्छ । सेवा सुविधाको व्यवस्था पनि उसैले गर्छ । अनि प्रदेशको नाम सगरमाथा राखेर के मज्जा भयो त प्रदेश सभासदज्यूहरू ? त्यसो भए कोशी नै किन त ? सप्तकोशी यस प्रदेशको आफ्नो नदी हो । यो नेपालका सबै नदीहरूभन्दा ठूलो छ । यसको विकासका लागि प्रदेश सरकारले योजना बनाउन सक्छ । यसमा गरिएको लगानीबाट प्रदेश सरकार र यहाँका जनताले प्रतिफल लिन सक्छन् । कोशी सभ्यता प्राचीन कौशिकीसँग जोडिएको छ । प्रदेश नम्बर एकका सबै पहाडी जिल्लाहरू कोशीमा आउने पानीका मुहानहरू हुन् । तिनीहरूसँग कोशीको पानीढलको सम्बन्ध छ । कोशी बेसिन क्षेत्रभित्र पर्छन् । तराईका जिल्लाहरू यसबाट सिञ्चित हुने भूमि हुन् । अहिलेकै अवस्थामा सुनसरी र मोरङ सप्तकोशीको नहरको पानीबाट प्रत्यक्ष रूपमा सिञ्चित छन् । तमोर–चिस्याङ डाइभर्सन बनेपछि झापा जिल्ला पनि सिञ्चित हुनसक्नेछ । यसरी प्रदेश नम्बर एकका चौध जिल्लाहरू कुनै न कुनै रूपमा कोशीसँग जोडिएका छन् । यहाँको जनजीवन कोशीमा आधारित छ ।

वस्तुतः कोशी नदीले यहाँको संस्कृतिको प्रतिनिधित्व गर्छ । मानिसको जीवनदेखि मृत्युसम्मका संस्कारहरू यस नदीसँग जोडिएका छन् । किरात संस्कृति यस क्षेत्रको निकै समृद्ध संस्कृति हो । यहाँ अन्य साना संस्कृतिहरू सम्बन्धित छन् । राई, लिम्बू, देवान, जिमी, दनुवार, जोगी, मुसहर, झाँगड, बाँतर, सन्थाल, राजवंशी, पूर्वी थारूको संस्कृति पनि कोशी नदीसँग जोडिएको छ । कोकाहा नदी, चतहरा, वराहक्षेत्र, विष्णुपादुका, रामधुनी कोशीसँग जोडिएका धार्मिक स्थलहरू हुन् । त्यसैगरी प्राचीन मिथिला, प्राग्ज्योेतिष, पुन्द्रबर्धना, इलाम, मोरङ, विराटराजाको दरबार, विजयपुर, चौदण्डी, उदयपुर गढी, बेलका, मैनामैनी यी सबै ऐतिहासिक धार्मिक तथा पौराणिक महत्वका क्षेत्रहरू कोशी सभ्यतासँग जोडिएका छन् । विजयपुर, चैनपुर, माझकिरात यस क्षेत्रका ऐतिहासिक राजनीतिक महत्वका स्थानहरू हुन् । सभापोखरी, दिङ्ला जस्ता महत्वका क्षेत्रहरू यसैमा छन् । यी सबै कोशी सभ्यतासँग कुनै न कुनै नाता भएकै छन् ।

सप्तकोशी सातवटा ठूला नदीको सङ्गम हो । यसका अलावा सयौं साना नदी र खहरेहरू यसमा समाहित छन् । सप्तकोशी नदी विश्वको अग्लो शिखर सगरमाथाको पानी बग्ने नदी हो । यसका सातवटा शाखा नदीहरूमध्ये दूधकोशीको शीर सगरमाथा हो । तमोर सबैभन्दा पूर्वबाट र इन्द्रावती सबैभन्दा पश्चिमबाट बग्ने नदी हो । तमोर कञ्चनजंघा हिमालबाट र इन्द्रावती गोसाइकुण्डबाट शुरु भएको छ । अरूण र भोटेकोशी चीनको तिब्बतबाट आएका छन् । अरूण किमाथाड्काबाट र भोटेकोशी तातोपानी नाकाबाट नेपाल प्रवेश गर्दछन् । अन्य कोशीहरू जनक, महालङ्गुर, लाम्टाङ हिमालबाट शुरु भएका छन् । सबैभन्दा धेरै बेगवान र चिसोपानी बग्ने नदी अरुण हो । यो हिमालय पर्वत शृङ्खला बन्नुअघिदेखि नै यो बाटो भएर बगिरहन्थ्यो भनिन्छ । यसरी हेर्दा कोशी नदीको सम्बन्ध यहाँको पहाडी, हिमाली र तराई क्षेत्रको जनजीवनसँग ऐतिहासिक र पौराणिक कालदेखि नै जोडिएको छ । रामायण, ऋग्वेदमा यसको प्रसङ्ग पाइन्छ । मिथिला र किरात साहित्यमा पनि यसको चर्चा छ, कोशीसँग जोडिएका छन् ।

नदीहरूलाई प्राचीनकालदेखि नै आमा वा देवीका रूपमा मान्ने गरिएको छ । कौशिकी माताका नामले पौराणिक कालदेखि चिनिन्छ । हिमालका जडीबुटीहरूको रस ल्याएर तराईलाई सिञ्चित गर्ने कौशिकी यस क्षेत्रको कृषि, वन, पर्यटन, विद्युत् उत्पादनका आधारहरू हुन्, जीवनदायिनी माता हुन् । यस प्रदेशका समृद्धिका आधारहरू कोशी टप्पु वन्यजन्तु आरक्ष, विश्वप्रसिद्ध कोशी टप्पु रामसार क्षेत्र, अरुण उपत्यका, मकालु बरुण राष्टिूय निकुञ्ज आदि थुप्रै महत्वपूर्ण स्थानहरू कोशी र तिनका प्रशाखा नदीहरूसँग सम्बन्धित छन् । कतिपय नामले र कतिपय व्यवहारले । कोशीका सबै शाखा नदीहरूले २२ हजार ५ सय मेगावाट विजुली निकाल्ने क्षमता राख्छन् । यति विजुली उत्पादन भएपछि यस प्रदेशको समृद्धिमा सघाउ पुग्दैन त ? यसका लागि प्रदेश सरकारले नै स्वदेशी तथा विदेशी लगानीको व्यवस्था गरी साना ठूला जलविद्युत परियोजनाहरू सञ्चालन गर्न सक्छ । हिमाल, पहाड र तराईलाई जोड्ने वैदिक, मैथिल र किरात संस्कृति समेट्ने कोशी यस प्रदेशका लागि चर्चामा रहेका सबै नामहरूको तुलनामा उपयुक्त छ । यसको नामकरणमा कसैले विरोध गर्नुको अर्थ छैन । राजनीतिक रूपमा विरोध गरिटोपल्नु भिन्दै कुरा हो । प्राचीन कौशिकी, यो पवित्र नामले यहाँका किरात, मिथिलादेखि लिएर विराट कोचसम्मको सभ्यता समेटेको छ । नम्बर हटाएर यस प्रदेशको नाम राख्नु नै छ । त्यसका लागि प्रदेशका आम नागरिकको जीवनसँग सरोकार राख्ने कोशी नै सबैभन्दा बलियो र सुहाउँदिलो छ । यसको पक्षमा हजारौं तर्क गर्न सकिन्छ, हजारौं तथ्यहरू आफै बोलिरहेका छन् । केवल नीति निर्माताले आफ्नो राजनीतिक आग्रहको पर्दा खोलेर खुला दृष्टिले हेर्नु र सुनिदिनु मात्र पर्दछ ।

अन्तमा, यस प्रदेशको नाम कोशी राख्दा सबैको जय हुन्छ । यो कुनै जात विशेष, धर्म विशेषको पेवा पनि होइन । कोशी यस क्षेत्रका जनताको साझा इतिहास, संस्कृति र सभ्यताको प्रतीक हो । अर्थात्, विगत र ऐतिहासिकता बलियो छ । कोशी वर्तमानमा पनि यस क्षेत्रका मानिसहरूको जीवनको आधार हो भन्ने कुरा जगजाहेर छ । विद्युत् उत्पादन, पर्यटन, सिंचाइ र अन्य आयोजनाहरू सम्पन्न गर्नसके कोशीले यस प्रदेशको भविष्य उज्वल र समृद्ध बनाउन सघाउँछ । यसप्रकार कोशी हाम्रो विगत, वर्तमान र भविष्यसँग जोडिएकै छ, प्रदेशको नामकरण गर्न चाहिँ किन गाह्रो ? आगे नीति निर्माताकै जिम्मा ।