बिर्तामोड/ ख्यातीप्राप्त कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशनमा निर्माण भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेदेखि देशभरका सिनेमा घरमा रिलिज हुने भएको छ । निर्माण पक्षले रोमाण्टिक ड्रामा उपमा दिएको सो चलचित्रले देशव्यापीरूपमा प्रचार–प्रसार शुरु गरेको छ ।  नामअनुसार नै चलचित्रको ८० प्रतिशत छायाङ्कन लण्डनमा गरिएको निर्देशक राईले बताइन् । लण्डन र नेपालका रमणीय स्थानमा छायाङ्कन गरिएको चलचित्र २ घण्टा १० मिनेटको रहेको छ ।

कोरियोग्राफी छोडेको हो ? भन्ने पत्रकारको जिज्ञासामा राईले आफूलाई चिनाउने पेशा भएका कारण कोरियोग्राफीलाई निरन्तरता दिने बताइन् । उनले भनिन्, ‘अहिले आफ्नो चलचित्रको प्रमोशनमा भएका बेला कसैले अनुरोध गरेको खण्डमा भ्याउँदिन भनौंला, तर त्यसपछि भने कोरियोग्राफीलाई निरन्तरता दिनेछु ।’ कोरियोग्राफीले नै क्यारियर बनेको भन्दै उनले त्यसको अनुभव निर्देशनमा उतारेको उनले बताइन् ।  चलचित्रमा अहिलेका व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नवनायक धीरज मगर, पत्रकार दिलभूषण पाठक, नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, रुवी राणा, अर्जुन श्रेष्ठलगायतका हेभीवेट कलाकारको अभिनय भएका कारण पनि दर्शकले मन पराउने विश्वास निर्देशक राईको छ ।

नायक धीरज मगर नवकलाकार भए पनि काम गर्न कुनै असजिलो नभएको चलचित्रकी नायिक शाह बताउँछिन् । उनले कथा, पटकथा, गीत, सङ्गीत, सम्पूर्ण पक्ष मजबुत भएकाले यो चलचित्र सफल हुने दाबी गरेकी छन् । उनले नेपाली सिनेमा क्षेत्रको ‘माइल स्टोन’ को रूपमा इन्टु मिन्टु लण्डनमा चलचित्रले परिचय बनाउने समेत दाबी गरेकी छन् ।  चलचित्रका नायक धीरज मगरले स्थापित नायिकासँग गर्नुपरेको अभिनयमा आफूले सक्दो मेहनत गरेको बताए । लण्डनमै बसोबास गर्दै आएका मगरले स्थापित कोरियोग्राफर राईको चलचित्र पनि सफल हुन सक्ने अनुमान गरेर सो चलचित्रमा काम गर्न तयार भएको दाबी गरे । उनले नायिका साम्राज्ञीसँगको अभिनयमा आफूले धेरै कुरा सिक्न पाएको बताए ।