भद्रपुर / सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई मध्यनजर गरी भारतसँग सीमा जोडिएका स्थानहरूको सुरक्षाको लागि दुवै देशका ४७ जना प्रहरीले गस्ती शुरु गरेका छन् । आउँदै गरेको चाडपर्वमा चोरी निकासी र पैठारी तथा अबाञ्छित गतिविधि हुन नदिन दुवै देशका सुरक्षा अधिकारीसँग गरिएको छलफलपछि सीमा गस्ती गरिएको बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्तरूपमा सोमबार ९४ देखि १०० नम्बर सीमा स्तम्भसम्म गस्ती गरिएको प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

टोलीले बिहान ८ बजेबाट ९४ स्तम्भ सिमलडाँगीदेखि १०० नम्बर सतीघट्टा गौचरनसम्म गस्ती गरेको एसपी ढकालले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको तर्फबाट वडाप्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर प्रकाश जवेगूको नेतृत्वमा ९ जना, सशस्त्र प्रहरीका इन्स्पेक्टर हेमराज श्रेष्ठको नेतृत्वमा २३ जना र भातगाउँ प्रहरी (एसएसबी)का प्रवीन कुमार हास्देको नेतृत्वमा १५ जना गरी ४७ जनाले संयुक्त गस्ती गरेको उनले जानकारी दिए । टोलीले दुवै देशका सीमामा देखिएका समस्याको बारेमा निगरानी बढाई शान्तीसुरक्षा कायम राख्नु मुख्य उद्देश्य रहेकोले गस्तीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।