बिर्तामोड /थारु नेता राजकुमार लेखीले राजनीतिक प्रतिशोधका आधारमा दुई–चार वर्ष थुनामा राख्दैमा थारुहरूको आन्दोलन अन्त्य नहुने बताएका छन् । कैलाली जिल्लाको टीकापुरको घटनामा संलग्नहरुलाई सरकारले बन्दी बनाएर राखेकोमा उनले आपत्ति जनाउँदै सरकारको दमनका कारण थारु आन्दोलन अन्त्य नहुने चेतावनी दिएका हुन् । थारु कल्याणकारिणी सभा झापाको ११ औं जिल्ला अधिवेशनको शनिबार बिर्तामोडमा उद्घाटन गर्र्दै थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री लेखीले भने, ‘थारुहरू सधैंभरि कसैको राजनीतिक दास बन्न तयार छैनन्, उपनिवेश पनि बन्दैनन् ।’ नेपाल आदिबासी जनजाति महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका लेखीले शासकहरूले आदिवासी जनजातिका अधिकारहरूलाई चुस्ने गरेको आरोप लगाउँदै थारुहरूमाथि लगाएको मुद्दा फुकुवा गर्न माग गरे । आदिवासीहरूले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखेको उनको भनाइ थियो । थारु आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको विद्रोहमा एक बालक र सात सुरक्षाकर्मी गरी आठ जनाको मृत्यु भएको थियो । त्यसमा संलग्न लक्ष्मण चौधरी, रेशम चौधरी, लाहुराम चौधरीलगायत २६ जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेकोे छ । त्यस्तै दुईसय जनामाथि मुद्दा लगाइएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष जयराम पञ्जियार, केन्द्रीय सदस्यहरू हरिनारायण चौधरी, वीरेन्द्र चौधरी, कृष्णमाया चौधरी, पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद चौधरीले बहुसंख्यक भएर पनि थारुहरूले हक अधिकार पाउन नसकेको गुनासो गरे । थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पुष्पलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा दमकका अध्यक्ष तेजनारायण चौधरी, क्षेत्रीय अध्यक्ष रामनारायण चौधरी, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य सुरेन राजवंशी, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य कुसुम चौधरी, धिमाल जाति विकास केन्द्रका क्षेत्रीय अध्यक्ष नरेशमान धिमाल, पत्रकार इन्द्रसिंह राजवंशीले पनि बोलेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष पुष्पलाल चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै थारु कल्याणकारिणी सभाको कार्यालय भवन बनाउने लक्ष्य रहेको बताए । उनले थारु सहकारी खोल्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिएका छन् । जिल्ला सचिव हरि चौधरीको स्वागत र सह–सचिव लव चौधरीको सञ्चालन रहेको कार्यक्रममा गीत, नृत्य, कविता र क्याटवाक प्रस्तुत गरिएको थियो । आज(आइतबार) सम्पन्न हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।