‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ? धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै पनि बेला सिकार बन्न सक्छ्यौ । दिदी सम्झेर केही त भन !’ त्यो केटीका आँखामा आँशु टिल्पिलाए । ‘काम गर्न बसेको घरमा मालिकले गिद्धे दृष्टि लगाउन थालेपछि म त्यहाँबाट भागेर जाने ठाउँ कतै थिएन अनि ।’ ‘मैले तिमीलाई केही सहयोग गर्न सक्छु कि म प्रयास गर्छु है, कुनै पनि बेला म तिमीलाई यहाँ भेट्न आउन सक्छु यहाँबाट अन्त नजाऊ है ।’ केटीले टाउको हल्लाउँदै भनी, ‘हस् दिदी ।’ रमिलालाई त्यो केटीको अवस्थाले विचलित बनायो । धेरै सामाजिक संस्थामा प्रयास गरे पनि कतैबाट सकारात्मक जवाफ आएको थिएन । केही दिनपछि त्यो केटी गराजको छेउमा रगतपच्छे भएर लडेको देखिन् रमिलाले । बगिरहेको रगत रोकिएको थिएन बलात्कार भएको अनुमान गरेर अस्पताल लगिन् । उपचारपछि होस त आयो तर त्यो केटीले रमिलालाई चिन्न सकिन । रमिला आफै फुपूकोमा बसेर पढ्दै थिइन् । उनले घरमा लान सक्ने आधार थिएन । रमिलाले डाक्टरलाई सबै कुरा उपचारको क्रममा बताएकी थिइन् । चिन्तिन भएकी रमिलाको मनोभाव बुझेर डाक्टरले भने, ‘एम्नेजिया असहाय घर छ थापाथलीमा त्यहाँ कल गर त्यो संस्थाले स्मरण शक्ति गुमाएका असहायहरूलाई सहारा दिन्छ अनि थेरापी र व्यावहारिक पद्धतिद्वारा स्मरण शक्ति फिर्ता ल्याउने कोशिस पनि गर्छ ।’ रमिलाले फोन गरिन् । ‘हेलो ! प्रभा दुलालसँग कुरा गर्न सकिन्छ होला ?’ ‘हजुर म प्रभा नै बोल्दै छु । भन्नुस् ।’ ‘म रमिला । एकजना बहिनी छन् १४ र १५ वर्ष जतिकी । बलात्कारको सिकार भएर स्मरणशक्ति गुमाएकी छिन् मैले सामान्य उपचार गराएँ । उनको जाने ठाउँ कहीँ रहेनछ । तपाईंको संस्थाले एम्नेजिया भएकालाई सहारा दिन्छ भन्ने सुनेकी थिएँ । त्यसैले तपाईंलाई फोन गरेकी ।’ हजुर बहिनी राम्रो गर्नुभयो तपाईंले । हुन्छ नि कुन अस्पतालमा हुनुहुन्छ हामी आउँछांै उनलाई लिन ।’ ‘टिचिङ अस्पतालमा छौं ।’ दुई घण्टापछि प्रभा अस्पताल पुगिन् । संस्थाको स्लोगन भट्याउँदै नमस्कार गरिन्, ‘सेवा नै धर्म हो, हाम्रो संस्था स्वार्थरहित नाफारहित संस्था हो ।’ ‘नमस्कार म प्रभा दुलाल । खै, बहिनीलाई भेटौं न त ।’ डाक्टरले भने, ‘उनलाई एम्नेजिया भएको छ । पुरानो कुरा केही सम्झन सक्दिनन् तर उपचार र यस्तै घटना कहीँकतै देखिन् भने त्यसकै आधारमा स्मरणशक्ति फर्कन सक्छ ।’ ‘ए ! हाम्रो संस्थामा गएपछि ठीक हुन्छिन् ।’ प्रभाले रमिलालाई सोधिन्, ‘पत्रकारहरूलाई बोलाउनुभयो त बहिनी ?’ आश्चर्यचकित भएका डा.र रमिला दुवैले एकै स्वरमा भने, ‘पत्रकारहरू ! किन चाहियो निरु ? मिडिया बोलाउनुस् अनि मात्र लान मिल्छ !’