मामाघर घुम्न आएकी सात वर्षीय बालिका बलात्कारमा परिन् । दुई वर्षे दुधे अबोध बालिका पनि बलात्कारको शिकार भइन् । गोठाला गएकी लाटी महिला सामुहिक बलात्कारमा परिन् भन्ने समाचार बारम्बार सुनिन आइ रहेको छ । हाल नेपालमा बलात्कारको घटना ठूलो सामाजिक अपराधको रूपमा देखा परिरहेको छ । छिमेकी, नातागोता र परिवारकै सदस्यबाट महिला र बालिका सुरक्षित छैनन् । अभिभावकलाई चेलीबेटी जोगाउन नै मुस्किल परिरहेको छ । यस्तो घटना हुनुमा देशमा रहेको गरिबी, पछौटेपन, अशिक्षा, अज्ञानता, महिलाविरुद्ध हुने सामाजिक भेदभाव, धार्मिक परम्परा, फस्टँदो यौन व्यापार, यौन पर्यटन, दण्डहिनता र कानुनी जटिलताहरू यसका प्रमुख कारणहरू हुन् । महिलाहरूको सोझोपना तथा नाजुकस्थितिको फाइदा लिई शारीरिक तथा मानसिक शोषण गरी महिला अस्मिता माथि खेलवाड गरी जिन्दगी बर्बाद पार्नेजस्ता घृणित एवम् निन्दनीय कार्य दिनहुँ भइरहेका छन् जसले गर्दा नेपाली महिलाहरूको स्वाभिमान र आत्मसम्मानमा ठूलो धक्का लागेको छ ।

बलात्कारको घटनालाई समयमा नै समाधान गर्न नसने वा बलात्कार गर्नेहरूलाई कडा कारबाही गर्न नसके यसले निकै नै नराम्रो परिणाम वा समस्या ल्याउने छ । बलात्कारी महिलाहरुलाइ समाज तथा घर परिवारले सहज रूपले नहेर्ने हुँदा सामाजिक समस्याको सिर्जना हुन्छ । बलात्कृत महिलाहरू सामाजिक अपमान र अपहेलनाको कारण आत्मग्लानी र मानसिक तनावमा जीवन बिताउन बाध्य हुन्छन् । बलात्कार गर्नेहरू राजनीतिक आड पाएर दण्डहिनताले उम्कने गर्दा उनीहरू झन् निर्धक्कसाथ यस्तो कार्यमा संलग्न रहेको पाइनेछन् । एचआईभी एड्स असुरक्षित यौनसम्पर्कबाट सर्ने हुँदा बलात्कृत महिलाहरूलाई रोग सर्ने र मृत्यु हुने सम्भावना रहन्छ ।

लेखिका समाजशास्त्री हुन् ।