नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २०७५ सालको जेठमा लिएको परीक्षामा उत्तीर्ण भएर काममा जाने तयारीमा रहेका नवनियुक्त विभिन्न पदका ३० जना कर्मचारीलाई मैले शुरुको एउटा मोटिभेसन क्लास लिनुथियो । त्यसमा विभिन्न प्रश्न सोधेको थिएँ । त्यसमध्येको एउटा थियो तपाईंका कमजोरी केके हुन् ? आफ्ना तीनवटा विशेषता र तीनवटा कमजोरी लेख्नुहोस् । आफुमा भएका विशेषता सबैले लेखे तर सबैले तीन विशेषता लेख्न सकेनन् । कसैले तीन, कसैले दुईवटा मात्रै लेखे । कमजोरी त कसैले पनि तीनवटा लेखेनछन् । धेरैले लेख्दैलेखेनन् । लेख्नेले पनि एकदुईवटा मात्रै लेखेछन् । एउटा राम्रै वित्तीय संस्थामा जागिर खान तम्तयार भएका करिब १३०० प्रतिस्पर्धीलाई उछिनेर आएका र पढेलेखेका युवाहरूको अवस्था हो यो । यसले मलाई लाग्यो हाम्रो समाजमा अब्बल ठहरिएका धेरै मानिस आफुमा भएको कमजोरी के हो भन्ने बारेमा अनभिज्ञ छन्, छौँ ।

एउटा पुरानो उखान छ ‘आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रा’ । कति सटिक र कति मार्मिक रहेछ यो उखान । सायद यही कारण हुनुपर्छ हामी अलि पछौटे हुनु, सोचेजस्तो चाहेजस्तो प्रगति गर्न नसक्नु । परिवार, छिमेकी, सहकर्मी समाजलगायत सबैसँग धेरथोर अन्तर्विरोध रहिरहनु, समस्या देखिनु । यही कारण हुनुपर्छ हामी हत्तपत्त हार्न, हारेको स्वीकार्न तयार छैनौं । यसो गर्नलाई त आफ्ना कमजोरी स्वीकार्नु हो, सुधार्न लाग्नु हो । यस प्रकारको परीक्षा एनएमसीले हरेक वर्षजस्तै लिने गर्छ । परीक्षामा उत्तीर्ण हुन नसक्नेहरूले मैलेभन्दा राम्रो अर्थात् हाम्रालेभन्दा राम्रो अरूले गरेछन् भन्ने कमै हुन्छन् । आफ्नालाई राखे भनेर आरोप लगाइहाल्छन् ।  मैले जीवनमा धेरै मानिसलाई नजिकबाट बुझ्ने मौका पाएँ भन्ने लाग्छ । अझ यसलाई यसरी भनौं कि मैले सङ्गत गरेका मानिसलाई नजिकबाट बुझ्ने कोशिस गरें । सङ्गत त मैलेभन्दा धेरै अरुले नै गरे होलान् तर तिनले आफ्नो सङ्गतको मानिसलाई नजिकबाट बुझ्न कति कोशिस गरे भन्ने कुराले अर्थ राख्ने रहेछ । मैले यही प्रयास गरें भन्ने लाग्छ । यसलाई अर्को अर्थमा भन्दा मानिसभित्रको मानिसलाई चिन्न कोशिस गर्नु । व्यक्तिमा भएको चित्तवृत्त, आन्तरिक सोच, व्यक्तिले अवलम्वन गरेको मूल्यमान्यता, जीवन जिउने दर्शन कला, विश्वास आदि कुराले व्यक्तिको कार्य अर्थात् कर्मलाई प्रभावित गर्छ । कर्मले जीवनलाई प्रभावित गर्छ ।

शिक्षाले मानिसलाई चेतना बढाउन सहयोग गर्छ र व्यवहारले संस्कार बनाउँदै जान्छ । शिक्षाको प्रयोग असल संस्कार निर्माणमा हुन सक्यो भनेमात्रै त्यसले जीवनमा सकारात्मक प्रभाव पार्ने रहेछ । कैयौं शिक्षित भनिएका मानिसमा संस्कारको अभाव हुँदा त्यहाँ शिक्षाको प्रभाव सकारात्मक बनेको पाइँदैन । त्यस्तै कुनै विद्यालय, विश्वविद्यालयको अनुहारै नदेखेका मानिसमा राम्रो र असल संस्कार विद्यमान हुन्छ । । मनभित्र घमण्ड, दम्ब, इस्र्या, डाहाजस्ता नकारात्मक भाव बढी भएका जुनसुकै मानिस हुन् उनीहरू हत्तपत्त हार्न चाहँदैनन् । उनीहरूको लागि हार्नु अपमान हो । अरुलाई हराउनु जीत हो । यस्ता मानिस जित्न चाहन्छन् । जित्न त सबैले चाहन्छन् तर अरुलाई अहित हुने कुनै काम नगरी जित्नु र अरुको अहित गरेर जित्नु फरक हुन्छ ।  आवरणमा कठोर देखिएका कैयौं मानिस वास्तवमा निकै लचक हुन्छन् । यहाँ लचकको अर्थ हो समयअनुसार आफुलाई सहजै परिवर्तन गर्न सक्ने, समाज र समयलाई चिन्न सक्ने । यस्ता मानिस अरुको कुरा सुन्न, सिक्न आफुमा भएका कमजोरी सुधार्न, गल्तीबाट सिक्न, नयाँ उपायको खोजी गर्न सक्ने खालका हुन्छन् । यस खालका मानिस आफुमा भएका कमजोरीको बारेमा धेरथोर थाहा पाउने खालका हुन्छन् । स्वस्थ आलोचनालाई ध्यान दिएर सुन्छन् । आफ्ना कमजोरी स्वीकार्छन् । आफ्नो क्षमताको पहिचान गर्छन् । लचकताको सबैभन्दा ठूलो गुण भनेको हार्न तयार हुनु हो अर्थात् सहमतिको खोजीमा आफुले अधिक योगदान गर्नु हो । आप्mनो कुरामा कुनै खोट नदेख्ने मानिस हार्न तयार हुँदैन । जो हार्न तयार हुँदैनन् ती जीवनमा प्रायः जित्न सक्दैनन् । क्षणिक जितको लागि यस्ता मानिसले जीवनमा हार्ने यात्रा गर्छन् । यस्ता मानिस अरुलाई अपजस र असफलताको भारी बोकाउन चाहन्छन् । जीवनभरिका लागि जित्नुछ भने अर्थात् धेरैलाई जिताउने अभियानमा सफल हुनुछ भने पाइला–पाइलामा हार्न सक्नु मानिसको महत्वपूर्ण लचकता हो ।

बच्चाले आमाबाबुसँग झगडा गर्दा हार्ने आमाबाबु हुन् र जित्ने बच्चा हुन् । बच्चाको चेतना न्यून हुन्छ । ऊ क्षणिक फाइदाका लागि झगडा गर्छ । जब बच्चा ठूलो हुन्छ तब ऊ पनि हार्न थाल्छ र जित्ने पालो ऊभन्दा साना बच्चाको हुन्छ । यसरी जसको चेतना न्यून हुन्छ ऊ जित्न झगडा गर्छ । तर जोसँग मन, बुद्धि र विवेक ठूलो र धेरै हुन्छ ऊ पटक–पटक हारेर पनि जितिरहन्छ । यसका लागि त्यस्ता व्यक्तिसँग आप्mनो गल्ती थाहा पाउने चेतना चाहिन्छ । आफ्नो गल्ति देख्नेले सुधारको प्रयास गर्छ । गल्ती सुधार्दै जाँदा ज्ञान बढछ, क्षमता बढछ, अरुसँग कसरी प्रस्तुत हुने थाहा हुँदै जान्छ । यस्ता मानिसले अरुलाईसँगै लिएर हिँड्ने, बाटो देखाउने, आफैँ उदाहरण बनेर प्रस्तुत हुने, धेरै व्यक्तिका फरक–फरक चिन्तन र चरित्रबाट सिक्ने खुबी हुन्छ । त्यसैले कत्ति पनि असहज नमानी हार्न तयार हुन्छन् । जसले हार्न स्वीकार्दैन उसले आप्mनो कमजोरी नै थाहा पाउँदैन । जसले आफ्नो कमजोरी नै थाहा पाएन उसले सुधार्ने मौकै पाउँदैन । जसले आफुलाई सुधार्न सकेननन् उनीहरूको सफलताको उचाई त्यति लोभलाग्ने र अनुकरणीय हुँदैन ।  सभ्य, शिष्ट, असल र सफल मानिसको तुलनामा कमजोर चेतना भएका मानिस नै ज्यादा घमण्डी, अहंकारी, झगडालु, जसरी पनि जित्नै पर्ने स्वभाव भएको, अरुलाई देखाउनै भएपनि जित्नु पर्ने, अरुको अगाडि सधैँ जितुवा हुनुपर्ने रोगले ग्रस्त हुन्छन् । वास्तवमा यस्ता मानिसको सम्बन्ध समाजमा, आफन्तमा त्यति राम्रो हुँदैन । यसको धेरै ठूलो कारण छैन, हुँदैन । मात्र यस्ता मानिस आफ्नो कमजोरी स्वीकार्न तयार नहुनु हो । जसले आफ्नो कमजोरी नै देखेन उसले सुधार्ने भन्ने हुँदैन । त्यसैले जीवनभरि कमजोरी बोकेरै यस्ता मानिस बाँच्ने गर्छन् । जसले कमजोरीसहितको जीवन बाँचे उनले अरुको अगाडि जितेको देखाउने त गर्लान् तर जीवनमा हारिरहेका हुन्छन् । किनकि यस्ता मानिस हत्तपत्त सिक्तैनन् । सिक्न चाहँदैनन् । स्वस्थ सुझाव र आलोचनालाई पनि स्वीकार्ने क्षमता राख्दैनन् ।

शिष्ट र सभ्य मानिस अरुसँग हत्तपत्त झगडा गर्दैनन्, गर्न चाहँदैनन्, गरिहालेछन् भने पनि उनीहरूले गर्ने झगडाको आयु लामो हुँदैन । त्यस्ता मानिस झगडा सिध्याउन चाहन्छन् । झगडामा आफ्नो तर्फबाट भएको कमजोरी चाँडै स्वीकार्छन् । मिल्ने बिन्दुको खोजी गर्छन् । उनीहरूलाई थाहा हुन्छ जीवनको उर्जा झगडामा लगाउँदा सिर्जनात्मक कार्यका लागि समय कम हुन्छ । जब सिर्जनात्मक कार्य, शुभकार्य, सिकाइ, सहयोगजस्ता विषयमा थोरै समय प्राप्त हुन्छ तब जीवनमा धेरै प्रगति गर्न सकिँदैन । हामी आफ्नै परिवेशमा भएका कैयौं यस्ता घटनाबाट सिक्न सक्छौं, समाजलाई बुझ्न सक्छौं, समाजभित्रका चरित्रको, व्यक्तिका स्वभावको अध्ययन गर्न सक्छौं । मूर्ख मानिसहरूको समाजमा झगडा धेरै हुन्छ, मुर्खहरू शारीरिक झगडामा समेत उत्रिन्छन् । अरुलाई हिंसात्मक क्षति पु¥याउन पाउँदा आनन्द मान्छन् । यस्ता मानिसको झगडा लामो आयुको मात्रै होइन कहिलेकाहीँ त पुस्ता–पुस्तामा सरेर जाने खालको समेत हुन्छ । जसले आप्mनो जीवनको अमूल्य समय झगडामा बितायो उसले कसरी प्रगति गर्न सक्ला र ? जसले जीवनमा धेरै झगडा गर्यो उसले आफ्ना कमजोरीको पहिचान गर्न सकेन । सही सङ्गतको पहिचान गर्न सकेन । अरुलाई बुझ्न सकेन । क्षमाभाव आएन । ऊ र ममा फरक छ भनेर देख्न सकेन । मतभेद अर्थात् झगडा सचेत मानिसमा पनि हुन्छ तर त्यहाँ मुद्दा, विषय, दृष्टिकोणजस्ता विषय प्रधान हुन्छन् भने मूर्खहरूको झगडामा इगो, घमण्ड, जितुवा हुनैपर्नेजस्ता विषय प्रधान हुने गर्छ ।

अझ जीवनमा खास उद्देश्य पूरा गर्ने लक्ष्य लिएर हिँडेका मानिसले आफुलाई राम्ररी पहिचान गर्नुपर्छ । आफ्नो र अरुको उद्देश्यको फरक, क्षमताको फरक, चेतनाको फरक, अवसरको फरक थाहा पाउनुपर्छ । मेरा बुबाले भनेको एउटा घटना सम्झन्छु, एकजना छिमेकीको प्रसङ्गमा भन्नु भएको थियो छिमेकी अलिक मूर्ख र झगडालु स्वभावको, सानासाना कुरामा पनि झगडा नै गर्नुपर्ने स्वभावका रहेछन् । यद्यपि उनी गाउँमा राम्रै आर्थिक हैसियत भएको मानिँदा रहेछन् । एक दिन उनीसँग कारोबार गर्ने मारवाडी व्यपारीसँग झगडा भएछ । झगडा दोहोरो भएन ती छिमेकीले मारवाडीलाई उनको गद्दी (अफिस) मा गएर तथानाम गाली गरेछन् । बुवाले हेरिरहनु भएछ, ती व्यपारीले सुनिरहेछन् । केही नराम्रो भनेनछन् । बुवालाई चित्त बुझेको रहेनछ । एक दिन बुवाले ती व्यपारीलाई सोधेछन् उसले त्यत्रो गाली गर्दा पनि तपाईंले केही जवाफ फर्काउनु भएन किन ? मलाई पो चित्त बुझेन । व्यपारीले हाँसेर जवाफ दिएछन् उनले उनको बुद्धिअनुसार काम गरे मैले मेरो बुद्धि अनुसार काम गर्नुपर्छ । मैले त उनीसँग व्यापार पो गर्ने त कहाँ झगडा गर्ने हो र ? झगडा गरेपछि त उनीसँगको मेरो व्यापार सकिहाल्छ नि । बुवालाई चित्त बुझेर होला यो भनाइ निकै पटक सुनाउनु भएको थियो ।

अहिले विभिन्न पेशा, व्यवसाय, क्षेत्रमा लागेका मानिसलाई भ्याएसम्म, सकेसम्म, नजिकबाट नियाल्ने कोशिस गर्छु । उनीहरु प्रगति गर्न त चाहन्छन् तर आप्mनो प्रगतिमा अरु खासगरी प्रतिस्पर्धीलाई बाधक देख्छन् । आफ्ना कमजोरी देख्दैनन् । अरुलाई बाधक देखेपछि अरुको पछिलाग्ने, अरुलाई उछिन्न उसलाई पछार्ने, अरुको आलोचना गर्ने, उछित्तो काड्ने, मौका मिले आर्थिक क्षति गराइदिने, सामाजिक, राजनीतिक, पेशागत क्षति गर्न पनि पछि पर्दैनन् । यसले वैरभाव बढाउँछ । सम्बन्धमा चिसोपन आउँछ । आप्mनो अमूल्य समय र उर्जा अर्काको खोजीनीतिमा, अरुको कुभलो गर्ने उद्यममा लाग्नाले आफ्नो समय खेर जान्छ । त्यही समयमा आफुले गर्न सक्ने राम्रो अवसर गुम्न जान्छ । समग्रमा धेरै क्षति हुन्छ । यस्तो क्रमले क्षणिक केही लाभ भएपछि दिर्घकालीन लाभ कसैलाई प्राप्त हुन्छ जस्तो लाग्दैन । यसको मुख्य जड आफुमा भएको कमजोरी थाहा नपाउनु, अरुको प्रगतिलाई आत्माले स्विकार्न नसक्नु, इस्र्या र डाहाले भरिएको हुनु हो । तर बाध्यता मानिसलाई कस्तो छ भने, अगाडि परेपछि उसैको प्रशंसा गर्नुपर्ने । यस्ता कैयौं आन्तरिक समस्यामा मानिस हुन्छ । यदि आफुमा भएका गल्तीको राम्ररी समीक्षा गर्ने हो र सच्याएर अगाडि बढ्न लाग्ने हो भने सायद मानिस अहिलेको भन्दा निकै सुखी र खुसी हुनसक्छ ।