नेपालका तीर्थस्थलहरूमध्ये एक पवित्र र पावन तीर्थस्थल रामधुनी हो । जुन तीर्थ सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–८ र रामधुनी नगरपालिकाको सिमानामा पर्दछ । यो तीर्थस्थलको कुनै मानिसलाई वर्णन गर्न मन लागेर फलाकी हिँडेको उसको मनको इच्छा वा लहड होइन । यो तीर्थ त पौराणिक इतिहास मानिने वाल्मीकि रामायण र श्रीमद्भागवत्का ग्रन्थहरुमा मुक्तकण्ठले व्याख्या गरेको पाइन्छ । जनमानसले सुन्दै गरेको श्रीमद्भागवत्का अनुसार श्रीङ्गी ऋषिका पिता समिक ऋषि हुन् । जो रामधुनी वनमै तपश्या गरेर ध्यानमग्न थिए । त्यहीबेला चक्रवर्ती सम्राट महाराज परिक्षित जङ्गलमा सिकार खेल्दै आउँदा समिक ऋषिको तपश्यास्थलमा आइपुगेछन् । त्यहाँ आइपुग्दा राजा परिक्षित भोकप्यासले रन्थनिँदै केही खान पाए हुन्थ्यो भन्ने आकांक्षा राख्दै राजा परिक्षितले समिक ऋषिसँग हामी भोकै छौँ हजुरका आश्रममा आएका छौँ । केही जलपान गराउनुहोस् भनेछन् । तर समिक ऋषि आफ्नै तपश्यामै लीन भएकाले राजाका कुरा सुनेनन् । राजा परिक्षित रिसाएर तपश्या गरिरहेका समिक ऋषिलाई मरेको सर्प गलामा लगाइदिएछन् । छोरा ऋङ्गीले यसो हेर्दा त बाबुको गलामा मरेको सर्प छ ।

[caption id="attachment_92157" align="alignleft" width="346"] लेखकः भेषराज घिमरे[/caption]

ऋङ्गीलाई धेरै रिस उठेछ र क्रोधित हुँदै उनले राजा परिक्षितलाई कौशिकीको जल हातमा लिएर सात दिनभित्र तक्षक सर्पले डसी मर्नुपरोस् भन्दै श्राप दिनुभयो । तर, समिक ऋषि अत्यन्तै शान्त, परोपकारी, करुणामयी भएकाले स्वयम् आफ्ना पुत्र श्रृङ्गीलाई सम्झाई बुझाई गरी यस्तो श्राप राजालाई दिनु हुँदैन बाबू, अन्याय हुन्छ भन्दै श्रापबाट मुक्त हुने उपायस्वरुप समिक ऋषिले सुकदेव स्वामीलाई निमन्त्रणा गरी स्वामीजीका मुखारविन्दबाट अठारै पुराणको सार श्रीमद्भागवत् कथा सुनाई राजा परिक्षितले उक्त कथा अद्योपान्त श्रवण गरिसकेपछिमात्र श्रापबाट मुक्त भएका थिए । यी सबै पौराणिक घटनाहरु यही धुनी वनक्षेत्रमै घटेका थिए । यसकारणले यो धुनी वन सिद्ध तपोवन हो । अर्को प्रसङ्ग छ, वाल्मीकि रामायणका अनुसार हालको रामधुनीमा विश्वामित्र ऋषिको आश्रम थियो । उहाँको बसोबास गर्ने महल रङ्गमहलमा पनि थियो । जुन अहिले पनि कोशी नदी पारि ठीक चतराको पारिपट्टि छँदैछ । विश्वामित्र ऋषिले आफ्ना शिष्य राम र लक्ष्मणलाई धनुर्विद्या यही रामधुनी वनमै सिकाई पारङ्गत बनाउनुभएको थियो । यो धुनी वनमा विश्वामित्र ऋषिले यज्ञको आयोजना गर्दा यज्ञस्थलको प्रमुख संरक्षक नै राम र लक्ष्मणलाई बनाउनुभएको थियो भनेर वाल्मीकि रामायणको बालकाण्डमा वर्णन गरिएको पाइन्छ । यज्ञ भङ्ग गर्न आएका ताडका आदि राक्षसहरुको वध गरी यज्ञको रक्षा गरेको स्थान पनि रामधुनी नै हो । विश्वामित्र ऋषिले धनुर्विद्याको अभ्यास गराउन धुनी वनमा रहुञ्जेल सालका बाक्लै रुखहरुको जङ्गलभित्र आश्रम र कुटीहरु तयार गरिए । नजिकै इक्राइ बस्तीका मानिसहरुले यज्ञ र धुनीका लागि भगवान् रामचन्द्रको सेवामा हात्तीलाई बोकाएर साँझका करिब ६ फुट लामा मुढा ल्याई विश्वामित्र ऋषि र रामचन्द्र भगवान्मा चढाएका थिए । भगवान् रामले धुनीका लागि आगो आफैले लगाई आजसम्म रामको धुनी रामधुनी अविच्छिन्न रूपमा छँदै नै छ । राम भगवान् धुनीमा रहुञ्जेल रातभरि धुनी ताप्ने बिहान भएपछि सुनसरी नदीमा स्नान गर्नुहुन्थ्यो । धुनी वनबाट जनकपुर प्रस्थान गर्ने समयमा सम्पूर्ण इक्राइवासीहरुलाई सुनसरी नदी र धुनीको महत्व सबैले बुझुन् भन्दै धुनीबाट बिदा हुने क्रममा यो धर्तीलाई सम्बोधन गर्दै श्रीरामले भन्नुभयो– ‘हे धर्ती माता यो अग्निलाई जोगाएर राख्नू, कालान्तरमा यो धर्ती मेरो नामले प्रसिद्ध तीर्थस्थल हुनेछ ।’ यति भनेर श्रीराम र लक्ष्मण गुरु विश्वामित्रको पछि लागि गौतम ऋषिका आश्रम हुँदै जनकपुरतर्फ लागे । रामधुनी यज्ञको खरानी अहिले पनि भारतका कुम्भ मेलामा विशेषगरी उदासिन सम्प्रदायका आचार्यहरुले खरानीलाई गोलासाहेब भनी ईश्वर मानी पूजाअर्चना गर्ने र कुम्भ प्रारम्भ गर्दा रामधुनीको खरानी (विगुत) प्रयोग गर्ने चलन छ । यो पवित्र तीर्थस्थल रामधुनी करिब सात हजार वर्षअगाडि त्रेतायुगको अग्निको ज्वाला मानिन्छ । यो तीर्थलाई व्यापक प्रचार–प्रसार गर्नसके राष्ट्रकै गौरवशाली तीर्थस्थल बन्ने कुरामा कुनै दुईमत छैन । अस्तु ।