सुनसरी क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार रहेका एमाले उम्मेदवार सर्वध्वज साँवाले चुनावी भाषणको क्रममा तरहरामा गरेको भाषण अहिले सामाजिक सञ्जालमा चर्चामा छ । त्यतिबेला महेश्वर कार्कीले खिचेको त्यो आहा ! इटहरीको भिडियो अहिले विशेषगरी प्रतिपक्ष दलका नेता तथा कार्यकर्ताहरुले म्यासेञ्जरमा पठाउँछन् । त्यो भाषण हाँसोको पात्र बन्दै आएको छ । सपना देख्नु आफैमा नराम्रो हैन तर कतिपय नेताको भाषण खिल्लीमा उडिरहेको हुन्छ । सर्वध्वजले चुनावी भाषणमा भनेका थिए: इटहरीलाई के बनाउन चाहन्छौ ? भन्दा आहा ! इटहरी बनाउन चाहन्छाै । कसरी त ? हामी इटहरीको चारैतिर आकाशे पुल बनाउनेछौं र, यसलाई हामी युवायुवतीको डेटिङस्थल बनाउनेछौं । अहिले हामी गोर्खा डिपार्टमेन्ट अगाडि आइज न भन्छौँ । अब आकाशे पुलमा आइज भन्छौं, त्यहाँ सेल्फी खिच्छौं, फोटो खिच्छौं । आहा ! इटहरी भयो कि भएन ? यही भाषण अहिले हाँसोको पात्र भइरहेको छ । इटहरीलाई हरितनगरी बनाउने र बाहिरबाट आउनेहरु जङ्गलमा पसे कि शहरमा पसे भनेर कन्फ्युज हुन्छन् । उनले भनेका थिए, त्यति मात्र हैन जङ्गलदेखि सबै ठाउँमा फूल पनि रोपिने र फूलैफूलको शहर बनाइन्छ । आहा ! नगरी इटहरी नगरी भएन ? उनले चुनावी सभामा आएका कार्यकर्ताहलाई सोध्दा हुटिङले माहोल तात्तिएको थियो त्यतिबेला । अहिले भने यही भाषण सर्वध्वजको लागि घाँडो भइरहेको छ भन्दा फरक नपर्ला । इटहरीमा आकाशे पुल बनाउने र त्यहाँ डेटिङ स्पट बनाउने योजना भाषण गर्दै भोट मागेका सर्वध्वजले चुनाव जितेको एक वर्ष पुग्न लाग्यो त उनले गरेको कुनै भाषण अहिले व्यवहारमा लागू हुने तरखरमासमेत छैन । सर्वध्वजको त्यो भाषण मात्र हैन, अधिकांश नेताको भाषण अहिले जनताको हाँसोको पात्र बन्दै गएको छ । यसले एक प्रकारको निराशा जनतामा छाएको छ भन्दा फरक नपर्ला । अगाडि धेरै कार्यकर्ता देख्दा उक्साहटमा गरिने भाषणले भविष्यमा असर नपर्ला भन्न सकिन्न । जसरी सर्वध्वजले भाषण गरे त्यो अनुसार इटहरी बनाउने विषय एक वर्षसम्म चुइँक्क नबोल्नुले सर्वध्वजले त्यो बेला गरेको भाषणमा तुक छैन भन्न सकिन्छ । अहिले चिया पसल र भट्टी पसलहरुमा हाँसोको पात्र भइरहेको छ । अहिले इटहरीमा केही भएन विकास भएन भनेर गनगन गर्नेहरुको जमात पनि बढ्दै गएको छ । कहिले बन्ला इटहरीमा आकाशेपुल ? कहिले बन्ला डेटिङ स्पट ? कहिले होला हरियाली र फूलैफूलको शहर इटहरी ? यो प्रश्नको उत्तर तपाईले दिनै पर्छ । यसरी केटाकेटीलाई खुसी बनाउने हिसाबले बोलेको त्यो शब्द इटहरीको मुख्य चौकमै बसेर केटाकेटीहरुको डेटिङ हेर्न सक्नुहुन्छ माननीयज्यू !अहिले त्यो भाषण इटहरीमा मात्र सीमित भएन अन्य ठूला शहरले पनि तपाईको भाषणलाई हाँसोमा उडाइरहेको कुरा तपाईलाई कसैले सुनाउँछ कि सुनाउँदैन ? त्यो चाही तपाईको कुरा हो । तर हाँसोमा उडाइहेको त्यो भाषणलाई काममा परिणत गर्ने लाग्नु चाहिँ कहिले उपयुक्त हुन्छ माननीयज्यू ?

सर्वध्वज इटहरीका लागि एउटा भाषणले मात्र हाँसोको पात्र बनाएको हो । इटहरीमा २०५४ सालमा पहिलो मेयर भएका सर्वध्वजले इटहरीको विकासमा अतुलनीय योगदान गरेका छन् । इटहरी अहिलेजस्तो थिएन, सानो बजार थियो । अहिले उपमहानगर बन्यो, त्यसबेला नगरपालिका थियो । त्यसबेला मुख्य चोकको उत्तरपट्टिको सडकमा १३ वटा बिरुवा रोपियो । बिरुवाका लागि निकै ठूलो फलामे बार लगाउन थालिएको थियो त्यसको नेतृत्व उही सर्वध्वजले गरेका थिए । बिरुवा रोप्दा पनि आलोचना, बिरुवा जोगाउन खोज्दा पनि आलोचना, सबैले देख्ने ठाउँमा खर्च गर्दा पनि अपारदर्शी खर्चको आरोप लागे पनि त्यही मेहनत अहिले इटहरी चौकको शान भएको छ । त्यो बेला ठूलो सपना देखेर हरित अभियान चलाएका थिए । उनलाई त्यसबेलाका अन्य जनप्रतिनिधिहरुले पनि साथ दिएका थिए । अहिले इटहरीको लागि यो बिरुवाले मात्र हरियाली बनाउन नसक्ने पक्का छ । बढ्दो जनसंख्या र शहरीकरणले अझ धेरै बिरुवा माग गरिरहेको छ । तर इटहरीमा बिरुवा रोप्ने अभियान त परै जाओस् खाल्डाखुल्डी बाटो पुर्ने अभियानसम्म चल्न सकेको छैन । अशोक, शिरिष र फूलहरुले सुन्दर बनेको इटहरीलाई फूलले स्वागत गर्ने बेला आएको छ । हुन त इटहरीको लागि सर्वध्वज कार्यकारी पदमा छैनन् तर इटहरीलाई सुन्दर बनाउन भूमिका भने अहम् हुनेछ । त्यसकारण इटहरीको बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै आकाशेपुल बनाउनु अहिले आवश्यक भइसकेको छ । मुख्य चौक वारपार गर्ने सडक यात्रुलाई भएको दुःखको विषयमा बोल्नै पर्छ । त्यो मात्र हैन, चुनावअघिको राजधानी बनाउने विषयमा समेत इटहरी पछि पर्दै गएको छ । यस विषयमा पनि सबै राजनीतिक अगुवाहरुले बहस गरेर नीतिगत निर्णय गराउन सक्नुपर्छ ।

कस्तो बनाउने इटहरी ? विभिन्न चर्चा र परिचर्चाको बीच इटहरी प्रदेश एकमै अगाडि छ । इटहरी प्रदेश एककै हब बन्दै गएको एउटा उज्वल भविष्य बोकेको शहर हो । चौतर्फी बाटाघाटो मात्र हैन, सबै हिसाबले अगाडि रहेको इटहरीलाई कस्तो बनाउने भन्ने सवाल अहिले चर्चामा छैन । इटहरीलाई आधुनिक र सुविधा सम्पन्न शहर बनाउने विषयमा खासै महत्व पाएको छैन । साथै व्यवस्थित हस्पिटल निर्माण गरी स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने देखिन्छ । सर्वध्वज साँवाले चुनावअघि इटहरीमै भनेका थिए कि हामी सानातिना चोटपटक लाग्दा धरान कि विराटनगर जानुपर्छ । अब इटहरीमा स्वास्थ्य नगरी बनाउनेछौं, जम्माजम्मी ६ जना डाक्टर भए पुग्ने रहेछ । हड्डी विशेषज्ञ, नसा विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ चाहियो । आँखा र दाँतका छँदैछन् । धेरै तलब दिएर भए पनि यहाँ ल्याइनेछ र दुईसय शøया भएको अस्पताल बनाइनेछ । यो गम्भीर विषय हो, इटहरीको लागि । स्वास्थ्य क्षेत्रमा पछि परेको इटहरीमा ठूलो अस्पताल आवश्यक छ । इटहरी पूर्वको नेतृत्व गर्दै गरेको उदाउँदो शहर, सबै जातजाति भाषाभाषीहरुको बसोबास भएको इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउन सक्नुपर्छ । २०५३ साल मङ्सिर ११ गते गाउँ विकास समितिबाट नगरपालिकाका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिका घोषणा भएको गाविस अहिले पूर्वको उत्कृष्ट उपमहानगरपालिका भइसकेको छ । इटहरी सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति भएको ठाउँ र सम्पूर्ण पूर्वाधार तयार गरी इटहरीलाई प्रदेशको राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ । प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने धेरैजसो भौतिक संरचना इटहरीमा उपलब्ध छन् । प्रदेशको राजधानी बनाउन लाग्नुपर्यो माननीयज्यू ।