डलास (टेक्सास)/छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस एकेडेमिक एक्सिलेन्स अवार्डसमेत हात पारिन् । टेक्सास शहरमा १९ अगष्टमा एक भव्य कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा फस्ट रनर अप टेक्सासकी २२ वर्षीया पोसा घर्तीमगर चुनिदा सेकेण्ड रनर अपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुङ्गेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटी, मिस कल्चर र मिस फ्रेन्ड्ली विधामा समेत अवार्ड जित्न सफल भइन् ।  प्रतियोगितामा टेक्सासकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दूतसमेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन् । यसैगरी अदिती श्रेष्ठले मिस डिसिप्लिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्सासको उपाधि हात पारे ।

सन् २०११ देखि अमेरिकाको न्यूयोर्क शहरबाट शुरु भएको प्रतियोगिता ‘मिस नेपाल युएसए’ का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोष सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली इण्टरप्रेनर अमित शाह हुन् । टेक्सासको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगितामा नेपाली समाज टेक्सास र नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहेको थियो । पूर्व मिसनेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठलगायतको प्रशिक्षकबाट विभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिँगार्ने जिम्मेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् ।  अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उद्देश्य रहेको प्रतियोगिता ‘इम्पावरिङ युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ । यसपटकको प्रतियोगिताको होष्ट सञ्जय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षितिजा शाक्यले तयार गरेका थिए ।

सौन्दर्य प्रतियोगिताको यो छैठौं संस्करण नेपाल ११ इन्टरटेन्मेन्टका प्रतीक सुवेदीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।