भद्रपुर । कैदी बन्दी जीवनमा अपराधमुक्त सोच विकास गर्ने उद्देश्य राखेर झापा कारागारमा हिन्दु धर्म दर्शनमा आधारित एक दिने वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा सनातन हिन्दु परम्परा तथा आर्य सभ्यता अनुसार वैदिक यज्ञ सम्पन्न गरिएको थियो । वैदिक समाज झापाका अध्यक्ष डाक्टर द्रोणकुमार पौडेल, सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीले संयोजन गरेको अनुष्ठानमा बन्दी विकास पुस्तकालयका अध्यक्ष तथा बन्दी गृहका आन्तरिक प्रशासन प्रमुख मोहनप्रसाद धिताल, सचिव युवराज गिरी सदस्यहरु पारश देव, नन्द किशोर थेवेले लगायत बाह्र जनाले अनुष्ठानमा यजमानको भूमिका निभाएका थिए भने सयौं कैदी बन्दीले लाभ लिन सफल भएको समाजका अभियान्ता द्रोण अधिकारीले जानकारी दिए ।