सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ । युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन् । सास गन्हाउने अनेक कारण छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये सास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ : खाना– यो सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफी आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यसबाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सूक्ष्म जीवाणु अनुकूल वातावरण सिर्जना हुन्छ र मुखलाई हानि पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।

सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिँडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि सास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन्  । गिँजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रूपमा दाँत माझ्दैन, विशेषगरी दुई दाँतबीचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा सास गन्हाउने समस्या बढी हुन्छ । अन्य रोगहरु– पिनाशको रोग, निमोनिया, गलाको सङ्क्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुख्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थीबाट र्यालको मात्रामा कमी भएपछि मुख सुख्खा हुन्छ । यस्तो अवस्थामा छिन–छिनमा तिर्खा लाग्ने, घाँटी सुख्खा भएको महसुस हुने, नाक सुख्खा हुने गर्छ । साथसाथै सुख्खा मुख भएका मानिसलाई सास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यसकारण वाक्वाकी लाग्ने, उल्टी हुने, शरीरमा पानीको मात्रा कम हुने, शरीरभित्रको रसायनिक तत्व वा हार्माेनको कारणले गर्दा सास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ? दिनमा दुईचोटी दाँत माझ्नुका साथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रोको सफाइ नियमित गर्नु पर्छ । रेसादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरीरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ । दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनीरहित गुँद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अम्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफीलगायत अन्य क्याफिन भएका पेयपदार्थको सेवनमा पनि कमी ल्याउनु पर्छ ।