हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । डेन्टिनमा रहने नशाहरु संवेदनशील हुन्छन् । विभिन्न कारण इनामेल खिइन्छ १. गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ । अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ । २. एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ । ३. कसै–कसैको सुत्दाखेरी दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ । ४. मुख सफा नराख्नाले गिँजाको रोग जस्तै गिँजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ । ५. यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ । ६.अन्य कारणहरुः

दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ । पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ–सिरिङ हुन्छ । एकपटक भरेको दाँतमा फेरि कीराले खान शुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ । कहिलेकाहीँ सिमेन्ट भरेपछि ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ । तर त्यो केही समयपछि आफै सन्चो हुन्छ । कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ ।

सिरिङ–सिरिङबाट बच्ने उपायहरु १. सही तरिकाले ब्रस गर्नुपर्छ । ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ । २. एसिड भएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने । ३. ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने । ३. सुत्दाखेरी दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने । ४. दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गिँजा स्वस्थ राख्ने । ५. यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने । उपचार यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ । कारणअनुसार उपचार फरक पर्छ । १. संवेदनशीलतामा प्रयोग गर्ने मञ्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ । २. यदि गिँजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ । यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ । ३. दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ । ४. दाँत कीराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नु पर्छ । ५. यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ । ६. सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नु पर्छ । ७. नमिलेको दाँतको अर्थाेडोन्टिक उपचार गराउनु पर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ ।