अपराधमुक्त समाज निर्माण गर्ने अभियानमा नेपाल प्रहरी लागेको छ । अपराधका घटनाहरु न्यूनीकरण गर्न नेपाल प्रहरीले अहिले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । प्रहरी जसरी भए पनि समाजमा शान्ति सुरक्षा कायम गर्न चाहन्छ र कुनै पनि अपराधी प्रहरी र कानूनबाट भाग्न पाउँदैन प्रहरी यो साबित गर्न चाहन्छ । तर अचम्मलाग्दो अर्को पक्ष पनि छ । समाजबाट अपराध निमिट्यान्न पार्छु भनेर लागिपरेको प्रहरीले पूर्वका ठूला अपराधका घटनामा संलग्न अभियुक्तहरुलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यसले प्रहरीले शुरु गरेको मिसनमा विश्वास गर्ने कि शङ्का गर्ने भन्ने प्रश्न उठ्छ । वर्षेनी फेरिने प्रहरी अधिकृृतहरूले आउनासाथ तत्काल प्रशंसा बटुल्न र आफू तगडा भएको साबित गर्न केही न केही प्रयासहरु गरिरहेका हुन्छन् । तर कसैले पनि पुराना फायलहरु खोज्ने र अभियुक्त समात्नेतर्फ केन्द्रित हुँदैनन् । जसका कारण अपराधीहरु समाजमा खुलेआम हिँडिरहेका हुन्छन् भने जनताले प्रहरीलाई गर्ने भरोसा पनि कमजोर हुँदै गएको हुन्छ । २०६२ साल वैशाख ३१ गते शुक्रबार इटहरी उपमहानगरपालिकाका मेयर गीतानिधि रायमाझीको हत्या भयो । जनयुद्धको बेला थियो । त्यसैले माओवादीले रायमाझीको हत्या गरेको भन्ने हल्ला बजारमा फैलियो । राज्यले आचफ्नो श्रीमान्को हत्यारा किन पत्ता लगाएन भन्ने उनको गुनासो छ । श्रीमतीको मात्र प्रश्न होइन, एउटा नगरको प्रमुखको हत्यारा पक्राउ गर्न किन प्रशासनले सकेन, यो गृह प्रशासनमाथिको गम्भीर प्रश्न हो । २०६४ साल चैत ५ गते मङ्गलबार इटहरीको दन्तकाली हार्डवेयर सञ्चालक दम्पती कैलाश अग्रवाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाँधेर बेल्चा प्रहार गरेर हत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले गर्यो भन्नेबारे १० वर्ष बित्दा पनि प्रहरीले केही पत्ता लगाउन सकेन । यो घटनाका हत्यारा पक्राउ गर्न प्रहरीलाई कसले रोक्यो ? यो जवाफ आम जनताले पाउनै पर्छ । २०७२ साल फागुन २० गते इटहरी–२ की १३ वर्षीया बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला पर्यो तर हत्या कसले र किन गर्यो भन्ने विषय अहिलेसम्म पत्ता लागेको छैन । यस्ता जघन्य अपराधमा संलग्नहरुलाई पक्राउ गर्न र घटनाको अनुसन्धानलाई टुङ्ग्याउन प्रहरीले किन सकिरहेको छैन ? यस्तै विषयहरुले प्रहरीप्रति जनताको विश्वास घट्दो अवस्थामा छ । प्रहरीले जनतालाई विश्वस्त पार्न पुराना घटनाका अभियुक्त पक्राउ गरेर सजाय दिलाउने हो भने प्रहरीले अपराधरहित समाज निर्माण गर्न सक्छ ।