संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाको च्यानडाँडामा रहेको दश घर पहिरोको उच्च जोखिममा परेका छन । पहिरोले स्थानीय टिकाराम श्रेष्ठ, अर्जुन श्रेष्ठ, गिता श्रेष्ठ, मोहन गुरुङ, रबिन्द्र गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार श्रेष्ठ, मनिराज गुरुङ, गौरीमान गुरुङ र दोर्ची भोटेको घर उच्च जोखिममा परेको हो ।

जोगवनी—किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको कोशील्हासा राजमार्गको च्यानडाँडा सडकखण्डमा सो घरहरु पर्दछ । सेकाहाका च्यानडाँडा स्थित सडकखण्ड भन्दा माथी रहेको ति घरहरु निरन्तरको बर्षाले पहिरो झर्न थालेपछि उच्च जोखिममा परेको स्थानीयहरुको भनाई छ । भिरालो जमिनमा रहेको ति घरहरुको आँगन मुनीबाट कोशील्हासा राजमार्ग रहेको छ । सडकभन्दा माथीका घरहरु भिरालो डाँडामा रहेका कारणले बर्षाको पानीसंगै जमिन चर्किएर पहिरो झर्न थालेको छ ।

ति १० घर मध्ये पनि रविन्द्र, अर्जुन, टिकाराम, गिता र दोर्ची भोटेको पाँच घरपरिवार तत्कालै विस्थापित हुने अवस्था रहेको देखिन्छ । बर्खाको समय छ, रातभर पानी पर्छ कसरी राती सुत्नु निन्द्रा समेत लाग्न छोडेको स्थानीय गीता श्रेष्ठले बताईन । सम्बन्धित खाँदबारी नगरपालिका र वडा कार्यालयमा पुगेर आफूहरुको अवस्था बारे जानकारी गराएको बताउर्दै तत्काल सुरक्षित स्थान्तरणको लागी अनुरोध गरेको समेत उनले बताईन । ‘पहिरोले घरको आँगन देखी तान्र्दै तलतिर लगिसक्यो, रातभर पानी पर्छ । बालबच्चा सानै छ । के गर्नु आफुहरुलाई साह्रै समस्या भएको छ ।’—उनले भनिन–‘ठूलो पानी परेको दिन छिमेकीको घरमा सुत्न जान्दौ ।’

भिरालो भूभाग, कमेरो माटो र बर्खाको समयमा पानी उम्रिने ठाऊँ भएकाले पनि पहिरो झर्न थालेको देखिन्छ । त्यहाँको भौगोलिक संरचना नै खकुलो माटो र भिरालो जमिन नै पहिरो जानुको प्रमुख कारण देखिन्छ । त्यसमाथी घरको मुनीबाट सडक बिस्तार भएपछि सडकको भित्तापट्टि समेत ग्राभिङ्गवाल समेत नलगाएको कारणले पनि पहिरो झरेको हो । पहिले सडक बिस्तारको समयमा पनि भित्तापट्टि पहिरो झर्नसक्छ, बलियो सिमेन्टेडवाल लगाईदिन आग्रह गर्दा सुनुवाई नभएको अर्का स्थानीय मोहन गुरुङले बताए । सडक माथीका घरहरु उच्च जोखिममा छन । सडक माथीका घरहरु पहिरो झरेमा सडकमुनीका घरहरु समेत पुरिने स्थानीय गुरुङको भनाई छ । ‘गाऊँ जनप्रतिनिधी वडासदस्य र गाउलेहरुले अवलोकन गरे पनि प्रशासन र नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु भने आएका छैनन् । निवेदन दिएका छौ आएर हेरिदिनु माग गरेका छौ । तत्काल बसोबासको ब्यबस्थापन र रोकथामको लागी सडकको भित्तामा गारो लगाउन माग गरिएको छ ।’—उनले भने ।

गाऊँमा ठूलो पहिरो झर्नथालेपछि तत्काल कसरी रोकथाम र ब्यबस्थापन गर्नसकिन्छ भनेर वडाले मूल्याङकन गरेर नगरपालिका र विपद ब्यबस्थापन समिति जिल्ला प्रशासनमा निवेदन पेश गर्न फायल तयार गरिसकेको खाँदबारी नगरपालिका वडा नम्बर–४ का वडासदस्य जीतबहादुर गुरुङले जानकारी दिए । उनको अनुसार ४ नम्बर वडामा नै पर्ने ति १० घर बाहेक भ्याङखोला—दिदिङ्ग सडकखण्डमा रहेको बालकुमार विश्वकर्माको घर समेत पहिरो जाने खतरामा रहेकाले रोकथामको लागी सिफारिस गरिएको बताए । बर्खायामको समयमा दिनानुदिन बर्षा भईरहेकाले तत्कालै सुरक्षित बसोबास र पहिरो रोकथामका लागी सम्बन्धित निकायहरुले चासो देखाउन आवश्यक छ ।