उदयपुर । उदयपुरमा पिको हाईड्रो विद्युतीकरण तथा सुधारिएको पानीघट्ट आयोजनाबारे कार्यशाला गोष्ठी भएको छ । ग्रामीण प्रविधि केन्द्र्रले ग्रामीण पिको हाइड्रो विद्युतीकरण तथा सुधारिएको पानीघट्ट आयोजना कार्यक्रम थालनी कार्यशाला गोष्ठी गाईघाटमा गरिएको हो । पहिलो पटक नेस्पेकको सहकार्यमा ग्रामीण प्रविधि केन्द्र्रले उदयपुरको रौतामाई र लिम्चुङ्गबुङ गाउँपालिकामा लघु पिको हाइड्रो पावर योजना ल्याएको ग्रामीण प्रविधि केन्द्र्रका प्राविधिक अधिकृत सन्तोष मण्डलले बताए । फिनल्याण्डको सहयोगमा गर्न लागेका लघु पिको हाइड्रो विद्युतीकरण तथा सुधारिएको पानीघट्टबाट दुई गाउँपालिकाको ८ सय १० जना लाभान्वित हुने भएको प्ररम्भिक अनुमान गरिएको अधिकृत मण्डलले बताए । ग्रामीण जनजीवनलाई लक्षित गरी स्थानीय स्रोत साधनलाई उपयोग गर्दै स्वच्छ वातावरण सिर्जना गर्न पिको हाइड्रो पावर तथा सुधारिएको पानीघट्टजस्ता विभिन्न कार्यक्रम गर्दै आएकोमा उदयपुरमा पहिलो पटक गर्न लागेको जनाएको छ । परियोजनाले बत्ती तथा मिलको साटो घट्ट सञ्चालन र सिंचाईमा सरल रूपले ग्रामीण जनताले उपयोग गर्न पाउने अपेक्षा लिएको छ । कार्यशाला गोष्ठीमा स्थानीय प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिले स्थानीय सरकारसँग समन्वयन गरी कार्यक्रम अगाडि बढाए सहज हुने सुझाव दिएको ग्रामीण प्रविधि केन्द्र्रले जनाएको छ ।