धरान/बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले पत्थरजडित ‘सुनचाँदी’ उत्पादन गर्ने ‘प्रोडक्सन हाउस’ उद्योग सञ्चालनमा ल्याएको छ ।

२४ वर्ष प्रवेशको अवसरमा प्रालिले ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनमा ल्याएको हो । यही भदौं ५ गते बराह २३ वर्षपूरा गरी २४ औं वर्षमा प्रवेश गर्दै छ । यस अवसरमा ‘इन्द्र वराह ज्वेलरी इण्डष्ट्रिज एण्ड रिसर्च सेन्टर प्रालि’ नामक उद्योग सञ्चालनमा ल्याइएको धरानका शाखा प्रमुख एवम् सञ्चालक मानबहादुर विश्वकर्माले बताए । जहाँ ३ सय जनालाई रोजगार प्रदान गरेको छ ।

दक्ष जनशक्ति उत्पादन गर्न तालिम सेन्टरको रूपमा उद्योगलाई विकास गरिने उनले बताए । त्यहाँ उत्पादित गहना विदेशमा निर्यात गर्दै स्वदेशमा विदेशी पूँजी भित्र्याउने लक्ष्य लिएको छ । स्वेदशको श्रम र पूँजीलाई रोक्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएको प्रालीका अध्यक्ष शिवकुमार लामिछानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

धरानबाट स्थापित प्रालि अहिले देशका मुख्य सहर तथा युके, हङकङ, ब्रुनाइ, दुवईमा सञ्चालित छ । प्रालिले नुनदेखि सुनसम्म कारोबार गर्दै आएको छ । धरानको वराह पारिवारिक भान्साघरलाई अनलाइन तथा फोनमार्फत् पनि अर्डर गर्न मिल्ने गरीको सुविधा शुरु गरिएको प्रसाशकीय अधिकृत गङ्गा कालिकोटेले बताए ।

धरान क्षेत्रमा निःशुल्क रूपमा होम डेलिभरीको व्यवस्था गरिन लागिएको उनले बताए । हरेक वर्षझैं यसवर्ष पनि स्थापना दिवसमा रक्तदान कार्यक्रम, पत्रकार प्रोत्साहन पुरस्कारसहित आफ्ना ग्राहकहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।