बेलबारी/ प्याब्सन बेलबारीले बुधबार आयोजना गरेको बेलबारी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बेलबारी २ मा रहेको शिक्षा सन्देश स्कुल प्रथम भएको छ ।  प्रतियोगितामा सिंहदेवी स्कुल दोस्रो, ईष्टन एकेडेमी तेस्रो र भानु मेमोरियल शैक्षिक गुठीले सान्त्वना स्थान हासिल गर्न सफल भए । बेलबारी ११ लक्ष्मीमार्गको स्वर्गिक भवनमा भएको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । प्रतियोगितामा १४ वटा टिम सहभागी रहेका थिए । कार्यक्रममा शिक्षा विभाग प्रमुख जीवन गड्तौलाले विजयी विद्यालयका विद्यार्थीहरुलाई सिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए । प्याब्सन बेलबारी अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य तेजबहादुर दाहालको रहेको थियो भने सञ्चालन प्याब्सन बेलबारीका सचिब महेन्द्र गिरीले गरेका थिए ।

युवाहरुलाई अभिमुखीकरण कार्यक्रम

 लियो क्लब अफ वेलबारीको आयोजनामा विहीवार लियो अभिमुखिकरण कार्यक्रम बेलबारीमा सम्पन्न भएको छ । कार्यक्रममा एक सयजना युवा तथा युवतीहरुको उपस्थिति रहेको थियो । बेलबारी नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष धनपती गौतम प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । युवाहरुलाई सकारात्मक सोंचको विकास गरि समाज प्रति उत्तरदायी बनाउन लियोको भूमिका रहने बेलबारी लियोका संस्थापक अध्यक्ष लियो सुनिल रिजाल बताए । कार्यक्रममा लायन्स क्लव बेलबारीका केदार प्रसाईं , बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईं, लायन्स योग्न्द्र सुवेदी,लियो रन्जित भगत, लियो सिदार्थ साह,लियो रेश्मा कार्की, लियो मनिल दाहालले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रशिक्षक लियो मुकेश पौडेलले सहजीकरण गरेका थिए ।