विर्तामोड । कन्काई नगरपालिकाको लापरबाहीका कारण एक परिवारले नगरबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ । नगरपालिकाले सडक निर्माण गर्दा खनेको नालीका कारण पर्खाल ढलेपछि कन्काई–१ दुर्गापुरका व्यवसायी रामआशिष महथाको परिवार विस्थापित हुने अवस्था सिर्जना भएको हो । ‘नगरपालिकाले पर्खाल लडाएका कारण मेरो मिल र गोदाम सुरक्षित भएन’ पीडित महथाले भने, ‘यस्तो असुरक्षाका बीच यस स्थानमा उद्योग सञ्चालन गर्न सकिन्न ।’ गत चैतमा भृकुटी मार्ग निर्माण गर्ने क्रममा महथाले सञ्चालन गर्दै आएको पुरुषोत्तम सेलर मिलको पर्खाल चर्किएको थियो । चर्किएको पर्खाल साउन १२ गते भत्किएको महथाले बताए । पर्खाल भत्किएपछि महथाले नगरपालिकाको न्यायिक समितिमा क्षतिपूर्तिको मागसहित निवेदन दिएका थिए । शुरुमा नगरपालिकाले पनि उनलाई आश्वासन दियो । नगरपालिकाले वडासदस्य पुष्पहरि चौधरीको संयोजकत्वमा स्थानीय लक्ष्मी काफ्ले र टीका उप्रेती सदस्य रहेको मेलमिलाप समिति निर्माण गरी छानविन गर्ने जिम्मा दियो । छानविनपछि संयोजक चौधरीसँग जिज्ञासा राख्दा नगरपालिकाले क्षतिपूर्ति नदिने जवाफ आएको महथाले बताए । उनले क्षतिपूर्तिभन्दा पनि पर्खाल निर्माण गरिदिन नगरपालिकासँग माग गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै भने, ‘पर्खाल भत्किएपछि म असुरक्षित भएको छु, मेरो माग नगरपालिकाले सुनेन भोलिदेखि म यो नगरमा बस्न सक्दिनँ ।’ पर्खाल निर्माण गर्न ५–६ लाख खर्च हुने उनले बताएका छन् । उनले २०५६ सालदेखि त्यो स्थानमा मिल सञ्चालन गर्दै आएका छन् । अर्का छिमेकी शर्मिला सङ्ग्रौलाको पनि बाटो खन्ने क्रममा माटो निकालेपछि पर्खाल भासिएको छ । त्यस्तै सोही बाटो निर्माण गर्दा स्थानीय सुकदेव पौडेलको घरलाई समेत क्षति पुगेको उनले बताए । पौडेलले उच्च अदालत विराटनगर इलाम इजलासमा निषेधाज्ञा मुद्दा दर्तासमेत गराएको जानकारी दिए । यता कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलका अनुसार ५ महिनाअघि बाटो विस्तार गर्दा धेरै ठाउँमा रहेका कम्पाउण्ड वाल भत्काइयो । तर, उद्योगी महथाको भने वाल भत्काइएको थिएन । वालको जग कमजोर रहेका कारण वर्षायाममा पानी पर्दा लडेको हो । ‘हामीले उहाँको एरियाको माटो खनेको होइन, सडक एरियाको माटो झिकेको हो’ मेयर पोखरेलले भने, ‘यहाँ उहाँको निवेदन परेको छ, अप्ठ्यारो नै प¥यो भने १५ हजार रुपैयाँसम्म दिन सकिने नीति छ ।’ विकास निर्माणका काम गर्दा धेरै सर्वसाधारणले सहयोग गरेको मेयर पोखरेलले बताए । ‘उहाँ जत्तिको मान्छेले बेलैमा वाललाई प्रोटेक्सन गनुपथ्र्यो’ मेयर पोखरेलले भने, ‘यो सानो कुरामा उहाँले विवाद गर्न सुहाउँदैन, नगरपालिकाले वाल ढालेको होइन ।’ न्यायिक समितिकी संयोजकसमेत रहेकी कन्काई नगरकी उपमेयर मञ्जु प्रसाईं अहिले अस्वस्थताका कारण कार्यालय जान सकेकी छैनन् । न्यायिक समितिले उद्योगी महथालाई मागेको विवरण उनले बुझाउनुपर्ने मेयर पोखरेलले बताए ।