पथरी । विषादी हालिएको पानी पिउँदा थप तीनजना विद्यार्थी सिकिस्त बिरामी बनेका छन् । लेटाङ नगरपालिका–९ स्थित श्रीमाविका कक्षा ७ मा अध्ययनरत प्रतिमा लिम्बू, कक्षा–३ का चेतन खड्का र कक्षा ५ का सिर्जना निरौला सिकिस्त बनेका हुन् । बिरामी विद्यार्थीलाई बिहीबार नै उपचारको लागि अस्पताल भर्ना गरिएको वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताए । प्रतिमा र चेतनको नोबेल अस्पतालमा उपचार गरिए पनि चेतन घर फर्किएका छन् भने सिर्जना लाइफ गार्ड अस्पतालमा उपचाररत छिन् । सिर्जनालाई आईसियुमा राखेर उपचार गरिँदै आएको छ । हाल नोबेलमा प्रतिमा, खुस्बु मिश्र, कमला लिम्बू, सृष्टि निरौला र मनिष थापा उपचाररत छन् । मङ्गलबार नोबेल अस्पतालमा भर्ना भएका ४ विद्यार्थीको स्वास्थ्यमा अझै सुधार आएको छैन । गम्भीर बिरामीको संख्या ७ पुगेको छ । बिहीबार बिहानैदेखि वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेल, वडासदस्यहरु र शिक्षक–शिक्षिकाहरु प्रत्येक विद्यार्थीको घर–घरमा स्वास्थ स्थिति बुझ्न पुगेका थिए । इलाका प्रहरी कार्यालय लेटाङले विद्यालयको ट्याङ्कीमा विषादी हाल्ने अज्ञात व्यक्तिलाई नियन्त्रणमा लिन सकेको छैन । पानी पिउने क्रममा २९ विद्यार्थी बिरामी परेका थिए । जसमध्ये ४ जना विद्यार्थी गम्भीर बनेका थिए । अन्यको मङ्गलबारे अस्पतालमा उपचारपछि घर फर्किए पनि तीनजना विद्यार्थी पुनः बिरामी भएपछि उनीहरुलाई बिहीबार नोबेले पठाइएको हो । लेटाङ नगरपालिकाका नगरप्रमुख शङ्कर राईले ट्याङ्कीमा विषादी हाल्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । नेपालको इतिहासमै सम्भवतः पहिलो पटक यस्तो घटना भएको भन्दै उनले विद्यार्थी उपचारमा समेत लेटाङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । प्रहरी प्रशासनले घटनाको निन्दा र भत्र्सना गर्नेबाहेक केही गर्न नसकेको अभिभावकहरूको गुनासो छ । अभिभावकहरुले दोषी पत्ता लगाई कानूनी कारबाही गर्न इलाका प्रहरी कार्यालय लेटाङमा दबाव दिए पनि हालसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर युवराज खतिवडाले घटनाको बारेमा अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो दोषी पत्ता लगाई सार्वजनिक गर्ने बताए ।