पानवारी । धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा उत्साहजनक उपलब्धी हाँसिल गरेको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले बिहीबार सदन सभाहलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा सञ्चालन गरेको एकसय ४२ पूर्वाधार निर्माणका योजनामध्ये ८१ वटा सम्पन्न भएको र ५२ वटा योजना क्रमागत रूपमा रहेको उल्लेख गरिएको छ । प्रस्तुत प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा उपमहानगरपालिकाले १ सय ४२ वटा योजनामा १ सय ३३ वटा योजना सम्पन्न गरेको भनिएको छ । पूर्वाधारको वित्तीय प्रगति सन्तोषजनक रहेको विवरणमा उल्लेख छ । भौतिक पूर्वाधारका लागि गत आर्थिक वर्षमा ४१ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ३२ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७८.४१ प्रतिशत हो । कार्यक्रममा गत आर्थिक वर्षको आय–व्ययको स्थिति, पूर्वाधारको प्रगति, समाजिक क्षेत्रको प्रगति, सामाजिक सुरक्षा भत्ताको स्थिति, वडागत प्रगतिसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा कानुनी अस्पष्टतालाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ । कानुनमा भएको अस्पष्टताले आर्थिक प्रवाह गर्न समस्या, कर्मचारी समायोजनमा समस्या तथा विषयगत शाखाको तालमेल गर्न समस्या भएको उल्लेख गरिएको छ । त्यस्तै उपमहानगरमा अपर्याप्त स्रोत साधन, अपर्याप्त बजेट, खानेपानी परियोजना अवरोध, जनसहभागिता घट्दै जानु, प्राविधिक कर्मचारीको अभाव हुनुलगायत मुख्य चुनौतीको रूपमा व्याख्या गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद उमिता विकले अहिले करलाई हाउँगुजीका रूपमा जनतामाझ प्रस्तुत गरेको भन्दै करसम्बन्धी चेतना जनतामा पु¥याउनुपर्ने बताइन् । उनले धरानको विकासका लागि प्रदेश सरकारले पनि धेरै योजनामा बजेट विनियोजन गरेको बताइन् । उनले धरान विकासको सन्दर्भमा अन्य नगरभन्दा अगाडि भएपनि अब नयाँ कार्यक्रम जनतालाई दिन आवश्यक रहेको बताइन् । कार्यक्रममा धरान उपमहनगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाले धेरै काम गरेको भएपनि जनताले देख्ने गरी भौतिक निर्माणको काम गर्न नसकेको बताइन् । उनले लामो समयको अन्तरालपछि जनप्रतिनिधि चुनिएको र सङ्घीयताको अभ्यास पहिलो पटक भएकाले कानुन निर्माण तथा प्रशासनिक काममा बढी व्यस्त हुनुपरेको बताइन् । वडाबाट आएका योजनामा सडकलाई मात्र प्राथमिकता दिएकाले सडकसँगै अन्य कृषि, व्यवसाय, रोजगार लगायत जनताको जीवनस्तर उकास्ने योजना बनाएर ल्याउन वडाध्यक्षहरूलाई सुझाव दिएकी थिइन् । उनले वार्षिक समीक्षा कार्यक्रममा औँल्याइएका कमिकमजोरीलाई आगामी वर्षमा सुधार गरिँदै लैजानेसमेत बताइन् ।