चितवन ।  काेशिटप्पुबाट चितवन लगेकाे अनार्ले बिहीबार पाडी जन्माएकाे छ ।

चितवन राष्ट्रिय निकुञ्जकाे खुल्ला खाेरमा राखिएकाे अर्नाले पाडी जन्माएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अर्नालार्इ २०७३ सालमा चितवन पुर्याइएकाे थियाे । अर्यालले भने ‘बुधबार अनुगमनमा जाँदा नौ वटा अर्ना देखिएका थिए, बिहीबार अनुगमनमा जाँदा आठ वटा मात्रै देखिए । एउटा हराएको हो कि भन्दै पुनः खोजी गर्दा एउटा अर्ना झाडीमा पाडीसँगै रहेको अवस्थामा भेटियो ।’

पाडी स्वस्थ रहेको र आमाको दूध खाइरहेको सूचना अधिकारी अर्यालले बताए । योसँगै निकुञ्जमा अर्नाको संख्या १० पुगेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले अर्नाले बच्चा जन्माउनुलाई स्थानान्तरणको सफलता भएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्ज अर्नाका लागि अनुकूल रहेको पुष्टि गरेको बताए । उनले भने ‘यहाँ अर्नाका लागि उपयुक्त वातावरण छ, सजिलै वंश वृद्धि गर्न सक्दो रहेछ भन्ने प्रमाणित भयो ।’

चितवन राष्ट्रिय निकुञ्जमा २०७३ माघमा कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ एवं सदर चिडियाखाना काठमाण्डौंबाट एक भाले र दुई पोथी गरी तीन वटा अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका केही अर्ना मौसम र खानपान नमिलेपछि मरेका थिए ।

गतवर्षको बाढीले खुल्ला खोरको जाली भत्काएपछि उक्त ठाउँबाट पसेको बाघले एउटा अर्ना मारेको थियो । खोरभित्र बाढी पसेर घाँस प्रदुषित भएपछि बिरामी परेर दुई वटा अर्ना मरेका थिए