धरान । वैदेशिक रोजागारीमा पुगेका प्रदेश १ का ९५ सहित ३२८ जना नेपाली कामदारको पासपोर्ट युएइस्थित नेपाली दूतावासले उपलब्ध गराउने भएको छ । दूतावासले वैदेशिक रोजगारीका क्रममा काम छाडी कम्पनीबाट भागेका कामदारको पासपोर्ट दिने भएको हो ।

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्समा पुगेर कम्पनीबाट काम छाडी भागेका नेपाली कामदारको सूची त्यहाँस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको छ । यो तथ्याङ्मा घरेलु कामदारका रुपमा रहेका र घरबाट भागेका नेपाली समावेश छन् । दूतावासले ३९१ जना नेपालीको सूची सार्वजनिक गर्दै उनीहरूलाई राहदानी बुझ्नका लागि दूतावासमा उपस्थित हुन भनेको छ ।

काम छाडी भागेका नेपालीको पासपोर्ट युएइस्थित अध्यागमन कार्यालयबाट प्राप्त भएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

काम छाडेर भाग्ने प्रदेश १ का ९५ जना

प्रदेश १ का विभिन्न जिल्लाका ९५ जना नेपाली कामदारले युएइमा काम छाडी भागेको देखिएको छ । सुनसरी जिल्लाका मात्रै १२ जना नेपाली कामदारको नाम र पासपोर्ट नं. सार्वजनिक गरिएको छ ।

सूचीमा मोरङका १८ जना र झापाका २५ जना छन् । त्यस्तै सूचीमा इलामका ८, ओखलढुङ्गाका ३, सोलुखुम्बुका १, ताप्लेजुङका ५, पाँचथरका ३, भोजपुरका २, तेह्रथुमका ३, उदयपुरका ४, खोटाङका ४, सङ्खुवासभाका ३ र धनकुटा ४ जना छन् ।

वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली भनेअनुसारको काम र तलब नपाएपछि कम्पनी छोडेर भाग्ने गरेका छन् । उनीहरूले कम्पनी वा रोजगाददाताको घर छाड्ने प्रमुख कारण भनेअनुसारको काम र तलब नपाउनु नै रहेको बताउँछन् ।

तर यो समस्याको कारण यतिमात्र होइन विदेशमा नेपाली दलालको लहैलहैमा लागेर गरिरहेको काम छाडेर हिँड्नेको सङ्ख्या अत्यधिक छ । नेपाली कामदारले विदेश जाँदा एग्रिमेन्ट पेपरमा सही गरेका हुन्छन् । त्यहाँ कामदारको सेवा सुविधा लेखिएको हुन्छ । कामदारले गर्नुपर्ने काम र त्यसको अर्थ नबुझ्दा भनेअनुसारको काम पाइएन भन्ने गुनासो सुनिने गरेको छ । एजेन्ट वा म्यानपावर कम्पनीले मुखले भनेको सेवा सुविधाभन्दा करारपत्रमा लेखिएको कामबारे स्पष्ट नहुँदा नेपालीहरू वैदेशिक रोजगारमा काम छाडेर हिँड्ने गरेका छन् ।