यासोक/पाँचथरको तुम्बेवा गाउँपालिका–१ का कृष्ण भण्डारीले बारीमा मकै लगाए । शुरुमा कल्कलाउँदो मकै देखेर दङ्ग उनी यतिखेर भने तनावमा छन् ।  एकवर्षको गर्जो टार्ने सोचेका उनको सपना टुटेको छ । असारको अन्तिम सातादेखि एकपछि अर्को गर्दै मकैका बोट सुक्न थालेपछि उनको सपना टुटेको हो । ‘पानी नपरेपछि धान पनि रोपिएन, मकैले जसोतसो ६–७ महिना थेग्ला कि भन्ने सपना पनि अधुरै रह्यो’ –उनी भन्छन् । फल लाग्ने बेलामा पानी नपरेपछि भण्डारीको झैं अधिकांशको बारीमा मकै सुक्न थालेको छ । मध्य वर्षामा पनि पानी नपरेपछि जिल्लाको तुम्बेवा र कुम्मायक गाउँपालिकाका किसानमा चिन्ता छाएको छ । यो बेला पनि पानी नपर्दा तुम्बेवा र कुम्मायकका ८ वडाका अधिकांश बाली सुक्नुका साथै खानेपानीको चरम अभाव शुरु भएको छ । खानेपानी र बालीसमेत नष्ट भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।  वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका कुम्मायक गाउँपालिकाका रानीगाउँ, यासोक, स्याबरुम्बा र तुम्बेवा गाउँपालिकाको आङ्ना, मौवा, वलने गाउँमा खडेरीले बालीनाली सुकेको हो । पानीको चरम अभाव हुँदा हिउँदका लागि प्लाष्टिक पोखरी, प्लाष्टिकका ड्रम लगायतमा पानी जम्मा गर्ने समयमा वर्षात् हुनै नसकेपछि स्थानीय चिन्तित बनेका छन् । वर्षा नहुँदा तुम्बेवा–१, २ र ३ मा लगाइएको अन्नबाली सुकेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए ।

असारको अन्तिम सातादेखि त्यसक्षेत्रमा पानी परेको छैन । खडेरीले अन्नबाली खेतबारीमै नष्ट भइरहेको कृषकहरूको गुनासो छ । बारीमा लगाएको मकै, मस्याम, बदाम, बोडीलगायतका बाली सुकेको कुम्मायक–१ यासोकका तिलक बुढाथोकीले बताए । ‘मकै बारीमै सुकेर खोष्टा मात्रै बाँँकी छ । त्यसरी सुकेको मकै पशुचौपायाले पनि नखाँदा रहेछन्’ बुढाथोकीले भने, ‘यस्तो समस्या वर्षेनी भोग्दै आएका थियौं तर यस्तो सुख्खा भने अन्य समयमा लागेको थिएन ।’  कुम्मायकको खाल्डे, भुल्के, सिम्ले, ओखलढुङ्गा र तुम्बेवाको ढुकुरे, देवान गाउँ, थेपाङ, चुहाडे, खैरेनी लगायतका दर्जनबढी गाउँमा खडेरीले अधिकांश अन्नबाली र घाँस सुकेका छन् । त्यस क्षेत्रका करिब १२ सय घरपरिवार खडेरी र खानेपानीको चरम समस्यामा रहेको गाउँपालिका प्रमुख थापाले बताए । ‘गाउँ आसपासका ठूला–ठूला डालेघाँसका रुखसमेत सुक्न थालेपछि गाई वस्तुलाई खुवाउने घाँसको अभाव हुन थालेको छ’ –स्थानीय सहमान कार्की भन्छन् । प्रमुख थापाले यस समयमा उत्पादन हुुने कुनै पनि वस्तु उत्पादन हुन नसकेपछि उक्त क्षेत्रमा भोकमरी लाग्ने खतरा रहेको बताए । उनले पीडित कृषकको लागि गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप सहयोगका लागि प्रदेश सरकारसँग पनि अनुरोध गर्ने बताए ।

यता कुम्मायक गाउँपालिकाले पनि खडेरीको पीडामा परेका स्थानीयको पहिचान गरी कसरी राहत वितरण गर्ने भन्ने विषयमा छलफल अघि बढाएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले श्रेणी विभाजन गरी राहतको व्यवस्था गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने बताए । कुम्मायक र तुम्बेवा गाउँपालिकाका १८ सय घरधुरी भोकमरीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ ।