विराटनगर/मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने ‘कोलिफर्म’ जीवाणु भेटिएको पानी उद्योगलाई मुद्दा दायर गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ढिलाइ गरेको छ ।

खाद्यले ल्याव परीक्षणपछि ११ वटा पानी उद्योगमा ‘कोलिफर्म’ र तीनवटा पानी उद्योगमा पि.एच. कम भेटिएको दुई साता बढी भएको छ । पानी उद्योगले उत्पादन गर्ने प्रशोधित पानीमा ‘कोलिफर्म’ भेटिएपछि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम चाँडै पानी उद्योगको सञ्चालकलाई मुद्दा दायर गरिने बताएका थिए । तर, दुईसाता बितिसक्दा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनशक्ति कम भएको कारण देखाउँदै मुद्दा दायर गर्न ढिलाइ गरेको हो ।

कार्यालयका प्रमुख कोइरालाको अनुसार एक साता बढी लगाएर बुधबारसम्म ११ वटा कोलिफर्म भेटिएको पानी उद्योग र ३ वटा पि.एच. कम भएको पानीका उद्योग सञ्चालकहरुको प्रारम्भिक चरणको बयान पूरा भएको बताए । ‘कार्यालयमा जनशक्ति अभाव छ’ उनले भने, ‘क्रमिक रूपमा कोलिफर्म र पि.एच. कम देखिएको पानी उद्योगका सञ्चालकको १० दिन लगाएर बयान पूरा भएको छ । अब मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउनेछौं ।’ एक साताअघि ब्लाष्टकर्मीसँग कुराकानी गर्दा कार्यालय प्रमुख कोइराले यस्तै कुरा दोहर्याएका थिए । मुद्दा दर्ताको प्रक्रियामा रहेको उनले बारम्बार दोहर्याउँदै आएका छन् । उनका अनुसार कोलिफर्म र पि.एच. कम भएको उद्योगको पानीमा सुधार नआएसम्म उत्पादन बन्द गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी गराएको उनले बताए । ‘अहिले ७ वटा उद्योगबाट उत्पादित पानी परीक्षणको लागि नमुना सङ्कलन गरी ल्याएका छौं’ उनले भने, ‘ल्याव परीक्षणछि पिउनयोग्य देखिए मात्र उत्पादन गर्न दिनेछौं ।’ अन्य उद्योगहरुको पनि नमुना सङ्कलन गरी ल्याउने क्रममा रहेको उनले बताए ।

खाद्य ऐन २०२३ खाद्य नियमावली मुद्दामा ५ देखि १० हजार रुपैयाँ जरिवाना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै हुनसक्ने कानूनी प्रावधान रहेको छ । पानी उद्योगका सञ्चालकहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा आएर बयानको क्रममा काम गर्ने स्टाफहरुको लापरबाहीले गर्दा यस्तो समस्या आएको बताएको स्रोतले बताए  । प्रशोधित पानी बोतलमा भर्दा अटमेटिकल मेसिनको प्रयोग नगर्दा र पानी उत्पादन गर्ने उद्योगको वरिपरि शौचालय भए पानीमा कोलिफर्म भेटिने जानकारहरु बताउँछन् ।

यस्ता छन् मुद्दा दायर हुने उद्योग मोरङको बूढीगङ्गा गाउँपालिका–१ टङ्की सिनवारीमा रहेको एउटा र विराटनगर महानगरपालिकाभित्र रहेको ११ वटा उद्योगमा कोलिफर्म भेटिएको छ भने तीनवटा उद्योगको पि.एच.कम भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कोलिफर्म र पि.एच. कम भएका १४ वटै उद्योगलाई मुद्दा दर्ता गर्ने तयारीमा छ । किशनकुमार रायले विराटनगर–१३ मा सञ्चालन गरेको श्री जल उद्योगको ‘सूर्य जल’, रामप्रसाद साहले विराटनगर–८ मा सञ्चालन गरेको शीतलजल उद्योगको ‘शीतल जल’, पङ्कज कर्णले विराटनगर– १४ मा सञ्चालन गरेको जोनसन जल उद्योगको ‘जोनसन अकुवा’ पानीमा कोलिफर्म भेटिएको छ । त्यस्तै रामविलास साहले विराटनगर–२ मा सञ्चालन गरेको तिरुपति जल उद्योगको ‘श्रीजल’, रामविलास साहले विराटनगर–६ मा सञ्चालन गरेको पूजाफूड एण्ड बेभरेज प्रालिको ‘क्वा पूजा’, सुमित साहले विराटनगर–११ मा सञ्चालन गरेको माउण्टेन वाटर उद्योगको ‘माउण्टेन’, डिपल शर्माले विराटनगर–१२ मा सञ्चालन गरेको दिव्यश्री जल उद्योगको ‘इभान एचटु’, जमुना खड्का थापाले विराटनगर–५ मा सञ्चालन गरेको गङ्गाजल उद्योगको ‘अकुवा यामुना पानी’, सुरेन्द्र लगरवारले बूढीगङ्गा गाउँपालिका–१ टङ्की सिनवारीमा सञ्चालन गरेको शुभजल उद्योगको ‘शुभजल’ पानीमा कोलिफर्म भेटिएको हो ।