विराटनगर/ १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरको प्राङ्गणमा नव निर्मित स्वास्थ्य उपचार केन्द्रको उद्घाटन गरिएको छ । तालिम केन्द्र हाताभित्र निर्माण सम्पन्न भएको स्वास्थ्य उपचार केन्द्रको बुधबार एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले समुदघाटन गरेका हुन् । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै रिजालले कार्यरत प्रहरी कर्मचारीको स्वास्थ्य उपचारका लागि अन्यत्र लैजानु पर्ने झन्झटबाट मूक्ति मिलेको बताए । उनले नवनिर्मित स्वास्थ्य उपचार केन्द्रले प्रहरी कर्मचारीको नियमित स्वास्थ्य परीक्षणसँगै उच्च स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताए । कार्यक्रममा तालिम केन्द्रका सह समादेशक रमेशकुमार बस्नेतले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार कुल १० लाख ७४ हजार रुपैयाँ लागत तथा प्रहरी कर्मचारीको श्रमदानबाट उपचार केन्द्रको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । त्यसैगरी केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले शारीरिक तथा मानसिक रुपले प्रहरी स्वस्थ्य भएमात्र सङ्गठनले अपेक्षा गरे अनुरूपको काम गर्न सकिने बताए ।

उनले प्रहरी कर्मचारीको प्रशिक्षणको दौरानमा आइपर्न सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल उपचार गर्न एमबीबीएस डाक्टरसहितको चिकित्सकबाट उपचार केन्द्र स्थापना गरिएको बताए । नव निर्मित स्वास्थ्य उपचार केन्द्रमा डाक्टरले जाँच गर्ने कोठा, अब्जरभेसन कक्ष, ल्याबोरेटरीतथा एक्स–रे कक्ष रहेको छ ।