समयको दौरानसँगै नेपालको राजनीतिमा एक प्रकारका भाइरस भनौं या कुरौटे प्रवृत्ति विकास हुँदै गएको छ । जसलाई सकुनी चरित्र भन्ने गरिन्छ । जहाँ सकुनी चरित्र हावी भयो । त्यस ठाउँको विकास हुनका लागि निकै कठिन हुने गर्दछ । त्यही कठिन मोडमा नेपाली राजनीतिको साँचो अड्किएको देखिन्छ । जसरी कुनै पनि काठलाई कमजोर बनाउनका लागि धमिरा लाग्ने गर्दछ । त्यसरी नै अहिलेको समयमा नेपालको राजनीतिलाई सही र सहज दिशाभन्दा बाहिरी दिशातर्फ लैजानका लागि विभिन्न प्रकारका समस्याहरु देखापर्न थालेको छ । हामीले सधैँ भन्ने गरेको नेपाली राजनीतिमा समयले नेटो काट्नै लाग्दा महत्वपूर्ण निर्णयहरु हुने गरेको तीतो यथार्थ पनि अझै सबै नेपाली जनताले भन्ने गरेका छन् । नेपाली राजनीतिमा यतिबेला कतिपय राजनीतिक विश्लेषक तथा विभिन्न आलोचकहरुले नेपालमा दुईवटा मात्रै दल अस्तित्वमा रहनु पर्दछ भन्ने गरेका छन् । यसले नेपालको भविष्यलाई सही दिशामा लैजान सक्छ भनेर ठोकुवासमेत गरेका छन् । यसले के देखिन्छ भने कुनै पनि देशमा दुईवटा मात्रै दल अस्तित्वमा रहँदा त्यसले बहुदलीय शासन व्यवस्था हो भनेर भन्न सकिन्छ कि सकिँदैन । यो पनि आज बहसको विषय भइरहेको बेला नेपालका राजनीतिक दलहरुले देशलाई सही बाटोमा लैजानका लागि केही न केही गर्नुपर्ने समय आएको छ ।

नेपाली समाजमा देखिएको सामाजिक चरित्रलाई हेर्ने हो भने आजको दिनमा हामीले सही समयको सही सदुपयोग गर्नुपर्ने बेला भएको छ । नेपाली समाजलाई हेर्दा कुनै पनि समाजमा रहेको व्यक्तिहरु एक–आपसमा मनमुटाव गरिरहेका देखिन्छ । यसले नेपाली समाजलाई कुन दिशातर्फ लगिरहेको छ । सो को बारेमा समेत छानविन गर्नुपर्ने भएको छ । हामीले भोगेको देखेको नेपाली समाज भनेको कुनै पनि हिजोको समाजको निरन्तरता हो । त्यसैले गर्दा हिजोको समाजको निरन्तरता भनेको नै समुन्नत समाजको परिकल्पना हो । तर, आज समुन्नत समाजको परिकल्पना हुनुपर्नेमा अझै पनि हिजोको परम्परावादी समाजको निरन्तरता खोजेको जस्तो देखिएको छ । त्यसैले नेपालको राजनीतिलाई सही बाटोमा लैजानु पर्दछ ।  आज हरेक स्थानीय सरकारदेखि प्रदेश सरकार र सङ्घीय सरकारमा राजनीतिक दल र कर्मचारीहरुबीच विभिन्न प्रकारका बेमेल देखिएको छ । यो भनेको एक प्रकारको नेपाली राजनीतिको सकुनी प्रवृत्ति पनि हो भन्न सकिन्छ । त्यसैले गर्दा सही समयमा राजनीतिक दलहरुले राज्यको सञ्चालक भनेको राजनीतिक दलहरु नै हुन् र कर्मचारी भनेको नेपाल जनताको सेवक र राजनीति दल भनेको जनताको भक्त हुन् । त्यसैले जनताको सेवक र भक्तले जनताको भलोको लागि के–के गर्नु पर्दछ । सो को विषयमा समयमा नै राजनीतिक दलहरुले सचेत भई जनताले चाहेको जनताको निर्णय गर्नु आवश्यक भएको छ ।  हिजोको दिनमा राजनीतिक दलहरुले जनतालाई दासी मान्ने गरेका थिए । त्यही प्रकारको राजनीतिक सर्कुलर आजको दिनसम्म पनि राजनीतिक दलहरुमा हावी हुँदै गएको छ । त्यसैले गर्दा जनताभन्दा माथि राजनीतिक दलहरुले आफूलाई लैजान र राजनीतिक दलका नेताहरु आफूलाई भगवान सरह भएको मान्ने गर्दछन् । जसको कारणले गर्दा आजका दिनमा राजनीतिक दलहरुप्रति जनताको अविश्वास बढ्दै गएको छ । जसको लागि यदि सरकारले नो भोटको अवधारणा विकास गर्ने हो र त्यसको लागू गर्ने हो भने हामीले त्यसको सदुपयोग पश्चात् थाहा हुन्छ नेपाली राजनीतिमा जनताको विश्वास कस्तो रहेको छ ।

यदि प्रजातान्त्रिक विधिबाट गठन भएको सरकार र प्रजातान्त्रिक पद्दतिलाई स्वीकार गर्दै आएको राजनीतिक दलहरुले आफ्नो वजनलाई थाहा पाउने थिए । अनि जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनताले फिर्ता बोलाउन सक्ने अधिकार जनतालाई दिने हो भने उनीहरुले जनताको अधिकार कतिसम्म रहेछ भन्ने कुरा थाहा पाउने थिए । सायद यस्तो अधिकार आजको दिनमा हामीले लागू गर्न नसकेको कारणले नै नेपालका राजनीतिक दलका नेताहरु भगवान सरह आफूलाई मान्दै आएका छन् । यो भनेको नेताहरुले आफूलाई जे जसो गरेर भए पनि शक्ति केन्द्रमा राख्न खोजेको जस्तो देखिन्छ ।  यसरी शक्ति केन्द्रमा जाने प्रवृत्तिका कारण आजको दिनमा हामीले देखिरहेका छौं कि कुनै पनि नेताको अमुक पात्र भइएको खण्डमा मात्र आफूले अवसर पाउनेछौं भनेर रजनीतिक दलका कार्यकर्ताहरु आफूलाई नेताका नजरमा पार्नका लागि यतिसम्म हथकण्डा मञ्चाउन तयार हुन्छन् कि उनीहरु आफ्नो अस्तित्व र जनताको अधिकारमा समेत तिलाञ्जली दिन्छन् । यसरी राजनीतिक दलहरु तथा त्यसका नेता कार्यकर्ताको प्रवृत्तिलाई देखेर नेपालका कर्मचारीतन्त्रले पनि सोही परिपाटीलाई आफू अनुकूल बनाउने गरेका छन् । त्यसको प्रत्यक्ष प्रभाव भनेको सर्वसाधारण जनतालाई पर्ने गर्दछ ।  यसरी राजनीतिक दलका नेता कार्यकर्ता तथा देशको स्थायी सरकारको रूपमा चिनिएको कर्मचारी तन्त्रको मन्त्र नै कसरी हुन्छ जनतालाई सास्ती दिने खालका देखिएको छ । यसले के देखाउँछ भने कर्मचारीहरु जनताको सेवक नभई शासक बन्न खोजेको देखिन्छ । राजनीतिक दलहरुले जनताको वास्तविक पिर मर्कालाई बुझेर जनताको सेवकलाई वास्तविक जनताको सेवकको रूपमा परिचित बनाउन सक्नु पर्दछ । यदि त्यसो गर्न सकिएन भने जनताको अधिकार रक्षा गर्नका लागि गठन भएको राजनीतिक दलहरुको भविष्यमाथि नै प्रश्नचिन्ह उठ्न सक्छ ? त्यसैले राजनीतिमा बोलिने शब्द ‘ठोस परिस्थितिमा ठोस विश्लेषण’ भन्ने गरे पनि त्यसको सही सदुपयोग हुन सकेको छैन । बोलीमा भन्ने गरिएको भए पनि व्यवहारमा त्यसलाई राजनीतिक दलहरुले उतार्न सकिरहेका छैनन् । त्यसैले गर्दा यसलाई सही समयमा सही निर्णय लिन सकेको खण्डमा हामीले नेपाली समाजलाई समुन्नत समाजको रूपमा विकास गर्न सक्ने थियौं । नेपाली समाज भनेको नै नेपाली राजनीतिको मेरुदण्ड हो । त्यसैले गर्दा त्यसलाई हामीले सही रूपमा समाजको विकास क्रमलाई आत्मसात गर्न सकेनौं भने पक्कै पनि हिजोको महाभारतको युगमा भए जस्तै कौरव र पाण्डवको युद्धजस्तै समाजमा कलह हुनेमा कुनै शङ्का छैन । त्यसैले हामीले हिजोको महाभारत युद्धमा सकुनीको भूमिकाले गर्दा युद्धले विकराल रूप लिन पुग्यो । आजको दिनमा राजनीति दल र कर्मचारीतन्त्रका बीचमा द्वण्द्व सिर्जना गर्नका लागि विभिन्न प्रकारका चालबाजीहरु भइरहेको छन् । विभिन्न प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । नेपालको संविधानले नै शक्तिशाली स्थानीय सरकारको परिकल्पना गरेको छ । यो भनेको जनताको अधिकार जनताले चुनेको प्रतिनिधिहरुबाट सञ्चालन गर्न पाउने अधिकार पनि हो ।  सोह्रौं शताब्दीमा अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कनले प्रतिपादन गरेको प्रजातन्त्रको सिद्धान्त ‘जनताबाट जनताको लागि निर्वाचित हुने प्रक्रिया नै प्रजातन्त्र हो ।’ यो सिद्धान्तलाई एक पटक मनन् गर्यौं भने मात्रै पनि हामीले थाहा पाउन सक्छौं । प्रजातन्त्र भनेको नै जनताको वास्तविक सेवक बन्ने एउटा सुनौलो प्रक्रिया हो । त्यसैलाई आत्मसात गर्दै नेपाली समाजमा देखिएको विभिन्न खालको विभेद तथा परम्परावादी सोच र विचारलाई निरुत्साहित गर्दै सुनौलो समाजको विकास गर्नका लागि हामीले सबैले हातमा हात मिलाउँदै विचारमा विचारको मन्थन गर्दे सही स्थानमा सही व्यक्तिलाई जिम्मेवारी दिने विषयमा समेत आजको दिनमा सोच्ने बेला भएको छ ।

यदि हामीले सही स्थानमा सही व्यक्तिको छनौट गर्न सकेनौं भने न त नेपाली समाजको विकास गर्न सकिन्छ, न त नेपालको समुन्नत भविष्यको परिकल्पना नै गर्न सकिन्छ । त्यसैले यस प्रकारका समुन्नत नेपालको भविष्य सुनिश्चितताको लागि नेपाली समाजका देखिएको विभिन्न तह र तप्काका सकुनी चरित्रहरुलाई अन्त्य गर्नु आवश्यक भएको छ । यसका लागि समयमै सोचौं र समुन्नत भविष्यको विकास गरौं ।