भद्रपुर/एक वर्षको अवधिमा जिल्ला वन तथा प्रहरीले काठ तस्करीमा संलग्न भएको आरोपमा ३३ जना पक्राउ गरेको छ । उनीहरूबाट वन कार्यालय झापाले ५ सय ९६ दशमलव ३६ क्यूविक फिट काठसमेत बरामद् गरेको छ । काठ तस्करीमा प्रयोग भएका ट्रयाक्टर र पिकअप भ्यान गरी नौवटा सवारी साधनसमेत नियन्त्रणमा लिएको छ । झापासँग सीमाना जोडिएको इलामका वन जङ्गलबाट चिरान वा गोलिया काठ झापातर्फ तस्करी गर्नेक्रममा सुरक्षाकर्मीले बरामद् गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीको एकवर्षको अवधिमा सो संख्यामा मानिस तथा काठ बरामद् गरिएको छ ।  सामुदायिक वनका पदाधिकारीको संलग्नतामा तस्करी हुने गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । बरामद गरिएको काठ सिसौ र साल जातका रहेको उनको भनाइ छ । पाँचवटा मुद्दा चाहिँ अदालतमा पुगे पनि ११ वटा मुद्दा वन कार्यालय अन्तर्गतका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रले नै हेरिरहेको छ । जसमध्ये अघिल्लो वर्ष ३८ जनाको मुद्दा फछ्र्र्यौट भएकोमा १६ जनाको मुद्दा फछ्र्यौटको चरणमा रहेको उनले बताए । काठसहित पक्राउ परेका अधिकांश व्यक्ति झापाको भए पनि उनीहरूले इलामका वनबाट तस्करी गरी झापा ल्याएको अनुसन्धानको क्रममा खुलेको वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए । झापामा १९ हजार ५ सय ५७ हेक्टर वन क्षेत्रमध्ये १५ सय ५२ हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म १५ सय ५७ दशमलव १ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथ्याङ्क थियो । आर्थिक वर्ष २०७४/०७५ मा आएर अतिक्रमितमध्ये ०५ दशमलव १ हेक्टर वन क्षेत्रबाट मानिसहरु हटाइएको छ । वर्र्षौदेखि अतिक्रमण भएकाले हटाउन नसकिएको सहायक वन अधिकृत उप्रेती बताउँछन् ।  वन अतिक्रमण हटाउन सशस्त्र एकल तथा संयुक्त गस्ती परिचालन, सूचना प्रसारण, सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन, छलफल, तारबार एवं वृक्षारोपण गर्दा पनि हटाउन नसकिएको उनले बताए ।

अहिले कतै धर्म वा संस्थाको नाममा पनि वन अतिक्रमण भएको देखिन थालेको उनले बताए ।