पानवारी । एकीकृत शहरी विकास आयोजना (आइयुडिपी) ले उत्पादन गरेको खानेपानीको उत्पादन क्षमता परीक्षण सम्पन्न गरेको छ । आयोजनाले खानेपानीको उत्पादन परीक्षण गरेसँगै खानेपानी वितरणको लागि अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । बुधबार धरानको चारकोसे जङ्गलमा भएको ट्युवेलको उत्पादन क्षमता परीक्षण गर्दै लक्ष्यभन्दा बढी पानी उत्पादन भएको आयोजना प्रमुख इञ्जिनियर राजु पोखरेलले जानकारी दिएका छन् ।

आयोजना प्रमुख पोखरेललगायत धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, उपमहानगरपालिकाका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा पानीको उत्पादन क्षमता परीक्षण गरिएको थियो । आइयुडिपीले धरानको चारकोसे जङ्गलमा बनाएको चारवटा ट्युवेलबाट उत्पादन हुने पानीको उत्पादन क्षमता परीक्षण सम्पन्न गरेको हो । आयुडिपीले चारकोसे जङ्गलमा बनाएको एक नं. ट्युवेलबाट प्रतिसेकेण्ड २१.७३ लिटर, २ नं. ट्युवेलबाट १८.१८ लिटर प्रतिसेकेण्ड, ३ नं. ट्युवेलबाट २२.२२ लिटर प्रतिसेकेण्ड र ४ नं. ट्युवेलबाट १९.६८ लिटर प्रतिसेकेण्ड पानी उत्पादन भएको आयोजना प्रमुख राजु पोख्रेलले जानकारी दिएका छन् । त्यस्तै धरान–१७ मा रहेको पहिलो ट्युवेलबाट ८ लिटर प्रतिसेकेण्ड, दोस्रोबाट १४ लिटर प्रतिसेकेण्ड र तेस्रोबाट १८ लिटर प्रतिसेकेण्ड पानी उत्पादन भएको जानकारी आयोजना प्रमुख पोखरेलले दिएका छन् । चारकोसे जङ्गलभित्र रहेका विभिन्न ७ वटा ट्युवेलबाट एकसय १९ लिटर पानी प्रतिसेकेण्डका दरले उत्पादन भएको आयोजना प्रमुख पोखरेलले जनाएका छन् । उनले एकसय पाँच लिटर प्रतिसेकेण्ड पानी उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि लक्ष्यभन्दा बढी पानी उत्पादन भएको दाबी गरे । उनले भने, ‘आयोजनाले राखेको लक्ष्यभन्दा बढी पानी उत्पादन भएको छ, अझ अहिले पानी तान्न प्रयोग हुने विद्युत्को भोल्टेज अपडाउन भएको कारण राम्ररी पानी तान्न सकेको छैन, विद्युत्को भोल्टेज मिलाउने मेसिन जडान गरिसकेपछि अझै पानीको उत्पादन बढ्छ ।’ सन् २०१७ जुनमा सम्पन्न हुने भनिए पनि ६ अक्टोबर २०१८ सम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्यादअनुसार डिसेम्बर ३१ तारिकभित्र आयोजना पूर्णरूपमा सञ्चालनमा आइसक्नु पर्नेछ । समयमा आयोजना सकिएर सञ्चालनमा आउने आयोजना प्रमुख पोखरेलले दाबी गरेका छन् । खानेपानी संस्थान नेपाल र आइयुडिपीबीच सम्पत्ति हस्तान्तरणको विषयमा विवाद र कर्मचारी समायोजन हुने विषयसमेत टुङ्गो लागिसकेको भन्दै दशैंअघि नै आइयुडिपीको खानेपानी वितरण हुने धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर भण्डारीले दाबी गरिन् । उनका अनुसार सम्पत्ति हस्तान्तरणका लागि गत असार ३२ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको र कर्मचारी समायोजनको विषयमा पनि लोकसेवा आयोगले कर्मचारी हस्तान्तरण गर्न छुट्टै नियमावली बनाइसकेको छ । सोहीअनुसार काम अघि बढेकोले अब चाँडै आइयुडिपीले खानेपानी वितरण गर्ने कार्यवाहक मेयर भण्डारीले बताइन् ।