पानवारी । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी एक नं. प्रदेशलाई नामाकरण गर्दा लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने लगायतका ११ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । मञ्चले २ नं. प्रदेशको नामाकरण भएपछि मात्रै १ नं. प्रदेशको नामाकरण हुनुपर्ने, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने, ७ प्रदेश खारेज गरी ११ प्रदेश बनाउनुपर्ने, खस आर्य समुदायलाई छुट्याएर खस र आर्यको छुट्टाछुट्टै क्लस्टरमा राख्नुपर्ने लगायतका माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सङ्घीयताको माग उठ्दा सबैभन्दा पहिले लिम्बुवान र त्यसपछि मात्रै मधेश र थारुको आन्दोलन उठेको भन्दै कुनै पनि हालतमा एक नं. प्रदेशको नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । उनका अनुसार लिम्बुवानको आन्दोलनका बेला सरकारसँग भएको ५ बुँदे सम्झौतामा समेत लिम्बुवान घोषणा गर्ने उल्लेख भएको र त्यसपछि भएका सबै सम्झौतामा पनि लिम्बुवान नाम हुने उल्लेख गरिएकोले अन्य नाम घोषणा गरे मान्य नहुने उनले बताए । आन्दोलनको घोषणा गर्दै भाद्र १ गते पूर्वका ५० शहरमा कोणसभा गर्ने, ४ गते इटहरीदेखि विराटनगरसम्म हजारौंको सहभागितामा पैदल हिँडेर मार्च पास गर्ने, ७ गते विराटनगर संसद् भवनअगाडि धर्ना दिने र १० गते राँके जुलुस प्रदर्शन गर्ने मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । नामाकरणको विषयमा केन्द्रित भएको लोकतान्त्रिक मञ्चले एक नं. प्रदेशको राजधानीको विषयमा भने आवाज उठाएको छैन । आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा ११ बुँदे माग राखिएकोमा कुनै बुँदामा पनि राजधानीका विषय उल्लेख छैन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको राजधानीको विषयमा जिज्ञासा राख्दा उपाध्यक्ष गुरुङले राजधानी विजयपुर हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको बताएका थिए ।