भद्रपुर  । झापाका पुराना राष्ट्रिय फुटबल खेलाडी केही महिना यता  दुवै मृगौला खराब भई ओछ्यान परेका छन् । भद्रपुर–७ वासीलाल टोलका ५२ वर्षीय राजीनाथ राजवंशीको दुवै मृगौला खराब भएको चिकित्सकले पुष्टि गरेका छन् । चेकजाँचको लागि जेठ ८ गते अस्पताल पुगेका राजवंशीलाई चिकित्सकले यस्तो सुनाएपछि उनी छाँगाबाट खसेजस्तै भएको सुनाए । दुवै मृगौला खराब भएपछि हाल उनी सातामा एकपटक होमोडायलासिस गरिरहेका छन् । उनी बिरामी परेको थाहा पाएपछि खेलप्रेमीलगायत समकालीनहरूले उपचार खर्च स्वतःस्फुर्त दिँदै आएका छन् । यसै क्रममा भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा बुधबार राजवंशीको घर गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट सङ्कलित साढे ४० हजार रुपैयाँ उपचार सहयोग गरेका थिए  । नेपाल पुलिस क्लबमा समेत रहेर राष्ट्रिय फुटबल टिममा लामो समय खेल खेलेका राजवंशीलाई उपचार सहयोगका लागि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरूले आर्थिक सङ्कलन गरी रकम हस्तान्तरण गरेका थिए । २०३९ सालबाट झापाबाट फुटबल खेल्न थालेका राजवंशीले नेपाल पुलिस क्लबमा ९ वर्षसम्म आबद्ध रहे । बिरामी परेका थाहा पाएपछि सबै साथीहरूले सहयोग गर्न थालेको उनको भनाइ छ । सामान्य आर्थिक अवस्था भएका उनका एक छोरी र एक छोरा छन् । अन्य व्यवसाय नभएका राजवंशीको उपचार खर्च जोहो गर्न धौधौ भएको पीडा छ । राजवंशीका दुवै मृगौला काम नलाग्ने भएपछि मृगौला फेर्न लाग्ने रकम अभाव भएकाले तत्काल आर्थिक सहयोग समिति गठन गरी बैङ्क खाता खोलेर सहयोग जुटाउने तयारी गरिरहेको खेलाडी भूपालमान कार्कीले जानकारी दिए ।