उर्लाबारी । नागरिकको काम नगरेको भन्दै वडाध्यक्षविरुद्ध उर्लाबारी–४ का खड्गबहादुर थापाले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका छन् । उर्लाबारी नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालविरुद्ध उच्च अदालत विरानगरमा बुधबार उत्प्रेषणयुक्त परमादेशका लागि मुद्दा दर्ता गरेका हुन् । थापाले बिक्री गर्न लागेको आफ्नो जग्गामा घर नभएको भन्ने सिफारिस दिन भन्दै गत जेठ २२ गते वडा कार्यालयमा निवेदन दिए पनि वडाध्यक्षले काम नगरेपछि न्याय माग्दै अदालत पुगेका हुन् । यता वडाध्यक्ष धिमालले थापालाई सिफारिस नदिएको कारणबारे प्रष्ट खुलाउँदै लेखेका छन्, ‘विकास निर्माणमा बाधा गरेको र जनसहभागिताबापत सडकमा लागेको रकमसमेत नबुझाएकाले सिफारिस रोकिएको हो ।’ थापाको नाममा दर्ता कायम रहेको उर्लाबारी–४ साविक मधुमल्ला ९ (च) मा एक कठ्ठा १० धुर जग्गा रहेको छ । उनी उक्त जग्गा बिक्रीका लागि सिफारिस लिन वडा कार्यालय गएका थिए । वडा कार्यालयको सिफारिस बिना मालपोत कार्यालयले काम अघि बढाउँदैन । ‘एउटा जग्गाको लागि दुई महिना धाइयो, सिफारिस नगरेपछि बाध्य भएर अदालत गएँ’ –खड्काले भने । नेपालको संविधान २०७२ को धारा १७, १८, २५ र नागरिक अधिकार ऐन २०१२ को दफा ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को १२ (ङ),(१२), १६ (ग) विपरीत कार्य भएकाले मुद्दा दायर गरेको उनले बताए । यता वडाध्यक्ष धिमालले नयाँ बाटो निर्माण सम्पन्नपछि बाटो नदिएकाले अन्य उपभोक्ताको लिखित उजुरीका आधारमा सिफारिस रोकिएको दाबी गरे । उनले स्थानीय उपभोक्ताबाट उजुरी आएको बताए ।