इटहरी । दशक बित्दा पनि इटहरीका चर्चित हत्याकाण्डहरूको रहस्य खोतल्न प्रहरी असक्षम बनिरहेको छ । वर्षेनी फेरिने प्रहरी अधिकृृतहरूले पुराना फाइलतर्फ ध्यान नदिँदा चर्चित हत्याकाण्डहरू त्यसै सेलाएका छन् । २०६२ साल वैशाख ३१ गते शुक्रबार इटहरी उपमहानगरपालिकाका मेयर गीतानिधि रायमाझीको साँझपख हत्या भयो । जनयुद्धको बेला थियो । त्यसैले माओवादीले रायमाझीको हत्या गरेको भन्ने हल्ला बजारमा फैलियो । तर अहिले पनि उक्त हत्या कसले ग¥यो भन्ने यकिन हुन नसक्दा श्रीमती माया रायमाझीको पीडाको घाउ पुरिन सकेको छैन । उनले आफू पीडित बन्दै आएको दुखेसो गरिन् । ‘राज्यले मेरो श्रीमान्को हत्यारा किन पत्ता लगाएन ?’–उनको प्रश्न थियो । श्रीमान्को हत्यारा पत्ता लागेको दिन आफूले न्याय पाउने उनले बताइन् । २०६४ साल चैत ५ गते मङ्गलबार इटहरीको दन्तकाली हार्डवेयर सञ्चालक दम्पती कैलाश अग्रवाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाँधेर बेल्चा प्रहार गरेर हत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले ग¥यो भने १० वर्ष बित्दा पनि अग्रवाल दम्पतीको हत्यारा प्रहरीले पत्ता लगाउन सकेको छैन । हत्या किन गरियो, कसले ग¥यो भन्ने पत्ता नलाग्दा पीडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् । २०७० मङ्सिर ४ गते खनारबाट सुवास काफ्ले हराए । मङ्सिर ६ गते तात्कालीन हाँसपोसा गाविसको चारकोसे जङ्गल क्षेत्रमा जलेको अवस्थामा सुवासको लास भेटियो । सुवासकी श्रीमती ममता काफ्लेले श्रीमान्को हत्या आफ्नै जेठाजु रमेश काफ्ले, सुवास गौतम र रमेशका सवारी चालक नरेश चौधरी विरुद्ध २०७१ वैशाख १९ गते किटानी जाहेरी दिइन् । जेठाजु रमेशसहितका केही पुर्पक्षका लागि जेल चलान भए पनि रमेश निर्दोष सावित भएर छुटे तर सुवासको हत्यारा को हो भन्ने पत्ता लागेको छैन । सुवासको हत्याको विषय गम्भीर बन्दै गए पनि हत्यारा पत्ता लाग्न नसकेको प्रहरी बताउँछ । २०७२ साल फागुन २० गते इटहरी–२ की १३ वर्षीया बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला प¥यो तर हत्या कसले र किन ग¥यो भन्ने विषय अहिलेसम्म पत्ता लागेको छैन । तात्कालीन इटहरीका डिएसपी ओम अधिकारीले हत्या भए पनि हत्यारा पत्ता लगाउन नसकेको बताएका थिए । कमजोर आर्थिक अवस्था भएको भुजेल परिवारले अहिलेसम्म न्याय नपाएको बताए । नेकपाका इटहरीका युवानेता तथा सगरमाथा आरोही मदन चूडालले पुराना हत्याराहरु खोजी गर्न नसक्नु प्रहरीको कमजोरी भएको बताएका छन् । ‘लामो समयदेखि पीडित परिवारले न्याय नपाए पनि प्रहरी अधिकृतहरु चुइँक्क बोल्दैनन्’ –उनले भने । पूर्वका आएका डिआईजी, इटहरी र सुनसरीमा आएका प्रहरी अधिकृतहरुले पुरानो फाइलको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिनुपर्ने उनले माग गरे । ‘सबै पीडित परिवारले न्याय पाउनुपर्छ’ –चूडाल भन्छन् । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले आफू इटहरी आएसँगै पुराना घटनाको फाइल खोज्ने काम शुरु भएको बताएका छन् । पुराना घटनाहरु खोज्न समिति नै तयार गरेर अगाडि बढेको उनी बताउँछन् । ‘ठूला घटनासँगै थाती रहेका मुद्दाहरुको विषयमा अनुसन्धान गर्छु’ –उनी भन्छन् । इटहरीका ठूला मुद्दालाई समेत फाइल खोजेर अनुसन्धान गर्ने तयारी गरेको डिएसपी श्रेष्ठ बताउँछन् । यसरी पुरानो मुद्दालाई प्रहरीले खोजी गरेर अपराधीलाई पक्राउ गर्नेसके पीडित परिवारले न्याय पाउने थिए ।