बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं. १० स्थित लक्ष्मीमार्गमा अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो बुद्ध एयर गोल्ड कप आयोजना गरिने भएको छ । डाँगीहाट युथ क्लबले बुधबार क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भाद्र २४ गतेदेखि गोल्डकप शुरु हुने जानकारी गराएका हुन् । प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज क्लब, भारतको युनाइटेड खर्साङ, धनकुटा ११, झापा ११, उदयपुर ११, बिर्तामोङ युनाइटेड, इलाम ११, मोरङ फुटबल एकेडेमी र आयोजक डाँगीहाट फुटबल क्लबको सहभागिता रहने क्लबका अध्यक्ष विक्रम राईले बताए । विजेतालाई २ लाख २२ हजार, उपविजेतालाई १ लाख दुई हजार पुरस्कार घोषणा गरिएको छ । त्यसैगरी बेस्ट डिफेन्स, बेस्ट गोल किपर, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर र बेस्ट कोचलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि बुद्ध एयरले पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ । कार्यक्रममा गत वर्षको आम्दानीले क्लबको भवन निर्माण गरिएको छ । सोही अवसरमा भवनको उद्घाटन समेत गरिएको छ । गत वर्षको प्रथम बुद्ध एयर गोल्डकपमा २ लाख ७३ हजार नाफा भएको विवरण सार्वजानिक समेत गरिएको थियो । क्लबले यस वर्ष अनुमानित २८ लाख ४५ हजार आम्दानी र २५ लाख ८५ हजार खर्च रहने बजेट पनि प्रस्तुत गरेको छ । पत्रकार सम्मेलन कार्यक्रममा खेलकुद विकास समितिका प्रदेश सदस्य राजन प्रसाईं, जिल्ला फुटबल सङ्घका उपाध्यक्ष सुजय गौतम, बेलबारी १०का वडाध्यक्ष राजन पोख्रेललगायतको उपस्थिति रहेको थियो ।