विराटनगर । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोह धरान ४ का ३८ वर्षिय जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अन्य चार जना फार्मेसीका सञ्चालकहरु धरौटिमा छुटेका छन् ।

जिल्ला अदालतका न्यायधीश महेन्द्रप्रसाद पोखरेलेको आदेश अनुसार गोल्डेन फार्मेसीका संचालक पाण्डब राजवंशीलाई ३५ हजार रुपैयाँ धरौटि तोकिएको थियो भने, जिग्री फार्मेसीका संचालक नौसाद आलम, लङ्ग लाइफ फार्मेसीका सञ्चालक दिपक कुमार राय र मेड प्लस फार्मेसीका सञ्चालक प्रशान्त कुमार चौधरीलाई जनही ४५ हजार रुपैयाँ धरौटि तोकिएको जिल्ला अदालत मोरङले जनाएको छ । चारै जनाले अदलातले तोकेको धरौटि बुझाएपछि बुधबार नै छुटेको बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिएर औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पाँच जनामाथि मोरङ अदालतमा मंगलबार मुद्दा दर्ता गरेका थिए । बुधबारदेखी अदाल समक्ष बयान सुरु भएपछि सोही दिन थुनछेक बहसपछि आदेश भएको हो । बादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला साहय न्याधिवक्ता रोहत पोखरेलले गरेका थिए । प्रतिवादीको तर्फबाट आधा दर्जन कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

औषधी व्यवस्था विभागले उनीहरुलाई औषधी ऐन २०३५ को दफा ३९(२) बमोजिम अवैध रुपमा बिना दर्ताको औषधी पैठारी, खरिद बिक्री वितरण तथा संचय अन्तर्गत मुद्दा दर्ता थियो ।

प्रहरीले विराटनगरको पाँच वटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको अवैध औषधी बरामद गरेको थियो । भारतबाट अवैध रुपमा नेपाल औषधी ल्याएर बिक्री वितरण गर्ने नक्कली औषधीको गिरोह अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि विराटनगरको फार्मेसीबाट नक्कली औषधीको बिक्री वितरण हुने गरेको खुलसा भएको थियो । अग्रवालले भारतबाट कम गुणस्तरको औषधी ल्याएर नक्कली स्टिकर प्रयोग गरि फार्मेसीलाईहरु दिने गरेको अनुसन्धानबाट खलेको थियो ।

नक्कली औषधीको कारोबारी गर्ने अग्रवालले लामो समयदेखी यसरी बिक्री वितरण गर्दै आएको बताइएको छ । भारतबाट अवैध रुपमा औषधी ल्याएर उनले विराटनगरमा एक घरमा भण्डारण गरि राख्ने गरेका थिए । माग अनुसार फार्मेशीहरुमा बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको हो ।