अस्ट्रेलियाको मेल्बर्नलाई उछिन्दै अस्ट्रियाको राजधानी भियना विश्वकै सबैभन्दा बस्न योग्य सहर भएको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले प्रकाशित गर्ने विश्वव्यापी सूचीमा युरोपेली सहर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।

आधार के?

एक सय ४० सहरहरूलाई तिनको राजनीतिक र सामाजिक स्थिरता, अपराधको अवस्था अनि शिक्षा र स्वास्थ्यसेवामा पहुँचसमेतलाई विचार गरी उक्त विश्वव्यापी तालिका बनाइएको छ। सर्वेक्षणमा कुनैपनि युरोपेली सहरमध्ये सबभन्दा धेरै सुधार म्यानचेस्टरमा देखिएको छ। पहिलेभन्दा १६ स्थान उक्लँदै म्यानचेस्टर ३५ ‌औँ योग्य सहर बनेको छ। यस सर्वेक्षणमा म्यानचेस्टर, लन्डनभन्दा १३ स्थानले अगाडि रहेको छ। दुई दशकअघि सो सर्वेक्षण सुरु भएयता दुई सहरहरूबीच यसपालि सबभन्दा धेरै अन्तर देखिएको छ। ईआईयूका अनुसार म्यानचेस्टरले सुरक्षामा व्यापक सुधार गरेका कारण सो सहर उक्त स्थानमा पुगेको हो। गत वर्ष म्यानचेस्टर अरिनामा भएको एउटा आक्रमणमा २२ जना मारिएको घटनालाई लिएर म्यानचेस्टरलाई घटुवा गरेपछि उक्त सर्वेक्षणको आलोचना भएको थियो। म्यानचेस्टरमा भएको सो ठूलो आतङ्कवादी आक्रमणपश्चात् सो सहर फेरि स्थिरतातर्फ उन्मुख भए उच्च क्षमता प्रदर्शन गरेको सर्वेक्षणकी सम्पादक रोक्साना स्लाभ्चेभाले बताएकी छन्। स्लाभ्चेभाले भनिन् - थुप्रै युरोपेली सहरहरूमा पनि यसपालि सुरक्षामा सुधार आएको छ। भियना पहिलो स्थानमा हुनु पनि युरोपका थुप्रै सहरहरूमा स्थिरता भएको सङ्केत हो।

को तल?

सर्वेक्षणका अनुसार गत वर्ष करिब आधा सहरहरूले बस्न योग्यको सूचीमा सुधार गरेको देखिएको छ। यो वर्ष दोस्रो स्थानमा रहेको मेल्बर्न पहिले सात वर्षसम्म पहिलो स्थानमा रहेको थियो। यो वर्ष दुई अन्य अस्ट्रेलियाली सहरहरू सिड्नी र एडिलेडले पनि उच्च दश स्थानमा परेका छन्। सिरियाको युद्धग्रस्त दमास्कस बस्न योग्य रहेको सहरको सूचीमा सबभन्दा पुछारमा रहेको छ। बाङ्ग्लादेशको ढाका र नाइजिरियाको लेगसले पनि बस्न अयोग्य सहरको सूचीमा छन्। ईआईयूका अनुसार कुनै सहर बस्न अयोग्यमा सूचीकृत हुनुमा अपराध, आतङ्कवाद वा युद्धले प्रमुख भूमिका खेलेका छन्।